०५ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

खोटाङ – मध्यपहाडी लोकमार्ग करिडोरमा पर्ने हलेसी–दिक्तेल सडक कालोपत्र भएको डेढ वर्ष नबित्दै भत्किन थालेको छ ।

गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्नुका साथै निर्माणमा लापरबाही भएकाले उक्त सडक खण्डका विभिन्न ठाउँमा सडक भत्किएको हो ।हलेसी–दिक्तेल सडकअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला क्षेत्रमा भत्किएको सडक । सडक खण्डअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुले, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, वडा २ को हुर्लुङ, मुढेलगायत क्षेत्रका ठाउँ–ठाउँमा सडक भत्किएको छ । एसियाली विकास बैंक (एडीबी) को लगानीमा दिक्तेल बजारको रत्नपार्क–किराँत चोकदेखि हलेसीको ३६ किलोमिटर सडकको कालोपत्र भत्किएको हो । कतिपय ठाउँमा भने घडेरी खन्दा सडक भत्काइएको छ ।

भत्किएको सडक मर्मतका लागि सम्बद्ध पक्षलाई अनुरोध गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिए । ‘सडक भत्किएपछि सम्बद्ध पक्षसँग मर्मतका लागि अनुरोध गरिएको छ,’ राईले भने । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्र भत्किएको सडकबारे पनि कुरा उठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । यो क्षेत्रको सडक सरकारलाई बुझाउन बाँकी रहेको र मर्मत गरेर मात्र बुझाउने जानकारी गरिएको उनको भनाइ छ ।एडीबीको ४६ करोड ८९ लाख ९२ हजार दुई सय २७ रुपैयाँ लागतमा साढे छ मिटर चौडाइमध्ये पाँच मिटर चौडाइमा कालोपत्र गरिएको छ । उक्त सडक तीन वटा प्याकेजमा कालोपत्र गरिएको हो । हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर १५ करोड ५२ लाख ५१ हजार, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर १५ करोड ८९ लाख ३४ हजार र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर १५ करोड ४८ लाख पाँच हजार रुपैयाँ लागतमा बनेको हो ।

हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर खण्ड लुम्बिनी–कन्काई–सूर्य, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर लामा–नागार्जुन र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर लामा–नागार्जुन–त्रिशूली जेभीले लिएका थिए । तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठ १६ मा ठेकेदार कम्पनीसँग सम्झौता भए पनि पाँच वर्षमा मात्र गत असोजमा मात्रै कालोपत्र सकिएको थियो । सडक विभागलाई भने बुझाउन बाँकी रहेको लामा–नागार्जुन–त्रिशूली जेभी सम्बद्ध राजाराम आचार्यले जानकारी दिए । कालोपत्रको सम्पूर्ण काम वर्ष दिनअघि नै सकिए पनि ठाउँ–ठाउँमा भत्किएकाले मर्मत गरेर मात्रै बुझाइने उनको भनाइ छ ।‘टेक्निकल समस्या आएका ठाउँमा कम्प्लिट गरेर मात्र बुझाइन्छ,’ उनले भने, ‘यसमा कोही भ्रममा पर्नै हुन्न ।’ सडक मर्मत गरिए पनि फेरि भत्किएको छ । बाँझेच्यानडाँडा–दिक्तेल सडक पनि गुणस्तरहीन भएको स्थानीयले गुनासो गरेका छन् । उक्त सडकखण्डअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दोर्पा, नेर्पालगायत क्षेत्रमा सडकको छेउ, कल्भर्ट, भित्ता र टेवापर्खाल गुणस्तरहीन बनेको गुनासो आएको हो । कतिपय ठाउँका कल्भर्डको जग नै भत्किएको, सडकको छेउ भत्किएको र त्यसैमाथि टालटुल पारिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका दिलचक्र राईले जानकारी दिए ।

दोर्पाको ढिकुरेको देवीथान भन्ने ठाउँमा जग नै चिरा परेर भत्किएको र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोला पाटी छेउमा सडकको मापदण्ड नपुग्ने गरी साँघुरो बनाइएको छ । यसबारे सम्बन्धित पक्षसँग कुरा गरिने नगर प्रमुख रिजालले बताए । उक्त सडक निर्माणको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको हो ।उक्त निर्माण कम्पनीले बाझे च्यानडाँडादेखि दिक्तेलसम्मको (८८ किलोमिटर) सडक निर्माणको ठेक्का लिएको थियो । च्यानडाँडादेखि दिक्तेलसम्मको सडक चार वटा प्याकेजमा निर्माणाधीन छ । यसमध्ये एक नम्बर च्यानडाँडा–पेलुङसम्म (१० किलोमिटर) ७० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किलोमिटर) ८० प्रतिशत र तीन नम्बर प्याकेज दारुला–कालीखोला (नौ किलोमिटर) को ९० प्रतिशत मात्र काम भएको छ ।चार नम्बर प्याकेजअन्तर्गत कालीखोला–दिक्तेल (९ किलोमिटर) सडक भने निर्माण सकेर सडक विभागलाई बुझाइसकिएको निर्माण कम्पनी सम्बद्ध साङ्गे शेर्पाले बताए । यो सडकखण्डमा आठ पुलमध्ये चार वटा मात्र सकिएको छ । आठमध्ये चार वटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । कालीखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोलाको सडक पुल सकिएको छ ।

अन्यको भने अत्तोपत्तो नभएको शेर्पाले जानकारी दिए । बेलामा पुल नबन्दा सडकको लाइनिङ गर्नसमेत समस्या भएको उनी बताउँछन् । सडक सकिएको खण्डमा पर्ने भालुखोला, छेपेखोलालगायतको पुल नबन्दा उक्त ठाउँमा सडक अपूरै छ । उक्त भालुखोला, छेपेखोला, मेवाखोलाको सडक पुलको टेन्डर प्रक्रिया नै नबढेकाले समस्या भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]