
बागलुङ – जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा मोटरबाटो खन्नेक्रममा विवाद हुँदा हँसिया प्रहार भएको छ । हँसिया प्रहारबाट स्थानीय दलसागर पुन घाईते हुनु भएको छ । उहाँको खुट्टामा गम्भीर चोट लागेको छ ।
काठेखोला गाउँपालिकाबाट विनीयोजित रकमबाट करम्दी—जुकेपानी हुँदै सिर्मात जोड्ने मोटरबाटो निर्माणको क्रममा विवाद हुँदा स्थानीय विवेक थापाले हँसिया प्रहार गर्दा पुन घाईते हुनु भएको हो ।घाईते पुनको तंग्राममा प्राथमिक उपचारपछि धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । हँसिया प्रहारबाट पुनको खुट्टामा गम्भीर चोट लागेका छ ।तीन वर्ष अगाडिबाट निर्माण सुरु भएर विगत दुई वर्षदेखि रोकिएको मोटरबाटोको निर्माण यस पटक पुनः सुचारु गर्ने क्रममा विवाद देखिएको हो ।
मोटरबाटो खन्ने क्रममा स्थानीयको जग्गा पर्ने भएपछि जग्गाको विवादका कारण बाटो खन्ने काम अगाडि बढ्न सकेको थिएन ।यो वर्ष जग्गा दिन सहमत भएका र सार्वजनिक जग्गामा मोटरबाटो खन्ने गाउँपालिकासंगको सम्झौता अनुसार काम अगाडि बढाउने क्रममा आक्रमण भएको करम्दी—जुकेपानी हुँदै सिर्मात जोड्ने मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पुनले बताउनु भयो ।‘यो ठाउँमा विवाद त पहिले देखिकै हो, यस पटक हामीले सहमति भएको ठाउँ र सार्वजनिक ठाउँमा मात्रै मोटरबाटो खन्ने गरी अगाडि बढेका थियौं,’ उहाँले भन्नुभयो,‘अचानक असम्बन्धित व्यक्तिहरु आएर हामी माथि हातपात गरे । ज्यानै लिने प्रयास गरी घरेलु हतियार प्रयोग गरेर आक्रमण गर्ने काम भएको छ ।’
टाउकोमा प्रहार गर्न खोजको हँसिया छल्ने क्रममा खुट्टामा लाग्न पुगेको उहाँ बताउनु हुन्छ ।मोटरबाटो अनुगमन समितिका सदस्य मनिष थापाले मोटरबाटोमा जग्गा पर्नेभन्दा असम्बन्धित व्यक्तिहरुले सांघातिक आक्रमण गरेको बताउनुभयो ।‘पहिलो हमला म माथि भएको थियो, मैले छलें, दलसागरले पनि छल्न खोज्दा खुट्टामा चोट लागेको हो,’ उहाँले भन्नुभयो, ‘त्यहाँ आक्रमण गर्न आउनेहरुमध्ये कसैको पनि जग्गा मोटरबाटोमा पर्दैन । अहिले जसले सहमति गरेर दिएको छ उसैको जग्गा र सार्वजनिक ठाउँमा मात्रै बाटो खनिएको छ ।’
मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पुन, अनुगमन समिति सदस्य मनिष थापा, गिरबहादुर पुन, विष्णु आलेलाई मनबहादुर थापा, ईन्द्रबहादुर थापा, चन्द्रबहादुर थापा, लालबहादुर थापा, नगेन्द्र थापा, लगायतले हातपात र आक्रमण गरेको बताईएको छ ।मोटरबाटो निर्माणका लागि पटक पटक छलफल हुँदा पनि सहमति नजुटेपछि सार्वजनिक ठाउँ र सहमति दिएको ठाउँमा मात्रै बाटो खन्ने काम भए पनि सहमति दिने परिवारलाई पनि धम्क्याउने काम भएको मोटरबाटो निर्माण उपभोक्ता समितिले जनाएको छ ।
अर्को पक्षले भने जबरजस्ती मोटरबाटो नखन्न आग्रह गर्दा स्थानीय वृद्धमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।उपभोक्ता समितिको कुटपिटबाट घाईते भएका भनिएका ७१ वर्षीय चन्द्रबहादुर थापाका छोरा मनबहादुर थापाले सहमति बेगर बाटो नखन्न भन्दा आफ्नो बुबामाथि कुटपिट भएको बताउनु भएको छ ।कुटपिटबाट घाईते वृद्धको पोखरामा उपचार भैरहेको भनेर उजुरी आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।
मोटरबाटो निर्माण उपभोक्ता समितिले भने आफुहरु माथि सांघातिक आक्रमणपछि नक्कली घाईते खडा गरेर पोखरा पठाउने र प्रहरीमा उजुरी दिई घटनालाई राजनीतिक आवरण दिन खोजको आरोप लगाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले दुबै पक्षबाट निवेदन परेको र दुबै पक्षलाई बोलाएर छलफल गरी दोषी पत्ता लगाउने बतानुभयो ।‘एउटाको खुट्टामा चोट लागेको अस्पतालमा उपचार भैरहेको छ, अर्को पक्षको व्यक्ति उपचार गर्न पोखरा गएको छ भनेर उजुरी आएको छ । हामी दुबै पक्षलाई डाकेर छलफल गर्छौं,’ उनले भने ।
काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले घटनाको बारेमा आफुलाई विस्तृतमा थाहा नभएको बताउनुभयो ।