सप्तरी – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचि सार्वजनिक गरेको छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछिका बैठक उपलब्धीमूलक बन्न सकेका छैनन् ।सरकारले संसदलाई बिजनेश नदिँदा बैठक प्रभावकारी बन्न नसकेको हो । शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन – २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश हुन लागेको हो । यस्तै बैठकमा नेपाली कांग्रेसका पूर्व राष्ट्रियसभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।
कोइरालाको २०७७ चैत ४ गते राति निधन भएको थियो । प्रतिनिधि सभा पुनःस्थापनापछि हालसम्म तीन वटा बैठक बसेका छन । राजनीतिक दलको किचलोका कारण संसद बैठक प्रभावित बन्दै आएको छ ।