काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कात्तिक २८ गतेको बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको दस्तावेजलाई बालुवाटारको बालुवा पेलेर निकालेको बताएका छन्।
बुधबार सिन्धुलीको फुर्कोटमा स्थानीयसँग छलफल गर्दै उनले त्यसलाई माओले भनेको जस्तै बुर्जुवाको हेडक्वार्टरमा बमबार्ड गरेको बताए।’पार्टी एकता गरेर प्रचण्डहरु खाली बालुवाटार जाने र बिहान-बेलुकै ओलीलाई भेट्ने तर, बालुवा पेलेर तेल ननिस्किए जस्तो केही पनि ननिस्किएको भन्ने परेको थियो’, उनले भने, ‘१९ पेजको दस्तावेज निस्कियो नि त।’उनले पार्टी र आन्दोलन बचोस् भन्ने उद्देश्यले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री चलाउनुस् भनेको बताए। ‘ओलीबाट कुनै सहमति पालना गर्ने काम भएन। बरु उल्टै विदेशी प्रतिक्रियावादीहरुसँग मिलेर संविधान नै खान, संघीयता नै खान खोजे। मैले तीन वर्ष सँगै बस्दा बुझें कि उनको एउटै रणनीति छ, माओवादीले स्थापित गरेको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सिध्याउने। त्यसका लागि मलाई सिध्याउने दाउ देखियो’, उनले भने, ‘अनि मैले पनि लड्ने भए जमेरै लड्ने ठानेर १९ पेजको दस्तावेज लेखें। पार्टीभित्रको बुर्जुवाको हेडक्वार्टर ओलीलाई माओले भनेजस्तो १९ पेजको दस्तावजेको बम हानें।’
संसद् विघटन गर्ने कदमलाई अदालतले उल्ट्याइदिएपछि ओली नराम्रोसँग पछारिएको प्रचण्डले बताए। ‘उनी छटपटिइरहेका थिए। हामीचाहिँ ठूलो लडाइँ जितियो भनेर ‘रिल्याक्स’ अवस्थामा थियौं। त्यही बेलामा सर्वोच्चले पार्टी फुटाइदियो। हामीलाई टाउकोमा हानेको जस्तो भएको छ’, उनले भने।उनले एकता भइसकेको दललाई सर्वोच्चले फुटाइदिनु भनेको जन्मिसकेको बच्चालाई गर्भमा हालिदिए जस्तो भएको बताए। उनले त्यो फैसला ठीक नभएको आफूले भनिरहेको र एक/दुई दिनभित्र पुनरावेदनमा जाने बताए।’माओवादी केन्द्र ब्युँतिएपछि हामी कुनै टेन्सनमा छैनौं’, प्रचण्डले भने, ‘अब नयाँ सरकार बनाएर जाने हो। संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरु एक ठाउँमा आउनुपर्यो र नयाँ सरकार बनाउनुपर्यो भनेर छलफल चलिरहेको छ। र, त्यो छलफल दिनप्रतिदिन सकारात्मक दिशातिर गएको छ।’
उनले माओवादी केन्द्रका सदस्यहरु पार्टी ब्युँतिएपछि पनि उत्साहित नै रहेको बताए। दुई वर्ष मिहिनेत गरियो भने पहिलो पार्टी बनाउन सकिने जोश गरेको उनले बताए।