नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीभित्रको जटिल समस्याले एकता अभियानलाई नयाँ किसिमको काम आएको बताएका छन् ।
काठमाडौंमा मंगलवार आयोजित राष्ट्रिय एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले पार्टीमा विवाद गरिरहेका दुवै पक्षसँग छलफल र वार्ताको वातावरण आफूले बनाइरहेको बताए ।‘एकता अभियानका काम अत्यन्त सफल छन् भन्ने मलाई लागेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले संसद भंग गर्ने र अर्काे पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने घटनाबीचमा हामीले एकता अभियान थालेपछि दुवै थरिका विचार सुन्ने र फेरि एकतामा ल्याउने प्रयत्न गर्यौं ।’
सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि विभाजित भएका दुई समूहका बीचमा एकताका लागि प्रयत्न गरेको नेता गौतमले स्मरण गरे । ‘दूतको रूपमा उतायता विचार पुर्याउने र एकताका लागि प्रयत्न गर्ने हामीबाहेक कोही थिएन,’ उनले भने, ‘सर्वाेच्च अदालतको इजलासले ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम प्रदान गर्दै हाम्रो नाम खोसियो । फेरि के हुने सम्बन्धमा त्यसले कुनै निर्णय दिन सकेन । दुई पार्टीलाई विभाजित गरेर २०७५ जेठ २ गतेको अवस्थामा पुर्यायो ।’नयाँ अवस्था सिर्जना भएपछि दुई पार्टी सहज रूपमा अगाडि बढ्लान् भन्ने लागेपनि त्यसो हुन नसकेको नेता गौतमले बताए । ‘नयाँ अवस्था सिर्जना भयो । दुईटा पार्टी पुनःस्थापित भएपछि सहज रूपमा अगाडि बढ्नेछ, हामीले एकताको माहोल सिर्जना गर्नेछौं र पुनर्मिलन हुनेछ, हामी अंकमाल गर्नेछौं र अर्काे संकल्प हुनेछ भन्ने हामीे ठानेका थियौं,’ उनले भने, ‘नेकपा माओवादी केन्द्रभित्र कुनै समस्या थिएन, अहिले पनि छैन । तर एमालेभित्र जटिल रूपमा समस्या प्रकट भए । फेरि एकता अभियानका हामीलाई काम नयाँ किसिमले आइपुग्यो ।’
एमालेभित्र देखिएको विवाद समाधानका लागि आफूले प्रयत्न गरिरहेको नेता गौतमले बताए । ‘हिजो मात्रै दुवै पक्षका कमरेडहरूलाई भेटेर अनुरोध गरें – एकताका निम्ति प्रयत्न गरौं । अध्यक्ष ओलीलाई भेटेर तपाईंले प्रयत्न गर्नुपर्ने हो भने । तपाईंले अस्ति मात्रै एउटा आफ्नो पक्षमा रहेका केन्द्रीय कमिटी सदस्यको बैठक गरेर निर्णय गर्नुभयो, पार्टीको विधानलाई संशोधन गर्ने, तदनुरुप अन्य क्रियाकलाप पनि तपाईंले गर्नुभयो, त्यसले तपाईंको व्यवहार पार्टीलाई फेरि एकतावद्ध गर्नेतर्फ गएन भने ।
मैले अनुरोध गरें – तपाईं नेकपा एमालेको अध्यक्ष हुनुहुन्छ, हामीले अर्काे अध्यक्ष बनाएका थिएनौं, एउटै अध्यक्ष एकल अध्यक्ष, तपाईं नेकपा एमालेको संरक्षक पनि हो, तपाईंले पार्टीका नेताहरू, कार्यकर्ताहरूको संरक्षण गर्न सक्नुभएन, अन्तर्विरोधको ठीक ढंगले व्यवस्थापन गर्न सक्नुभएन, तपाईंको व्यवहार पुरानै छ, तपाईंले यस्तो गर्न सुहाउँछ ? भने ।’