कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले हुएस्कालाई ४–१ ले पराजित गरेको छ ।
यो खेलबाट मेस्सीले बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने जाभी हर्नान्डेजको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । मेस्सीले बार्सिलोनाबाट २००४ मा डेब्यु गरेका थिए। बार्सिलोनाका लागि उनले ७६७ खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गरेका हुन् । गएराति बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे भने एन्टोनी ग्रिजमन र ओस्कर मिनगोएजाले एक÷एक गोल गरे।मेस्सीले १३औं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। खेलको ३५ औं मिनेटमा ग्रिजमनले बार्सिलोनाको अग्रता दोब्बर पारे ।
पहिलो हाफको अतिरिक्त समयमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै हुएस्कारलाई २–१ को अवस्थामा ल्याए । बार्सिलोनाका लागि ५३ औं मिनेटमा ओस्कार मिनगोएजाले गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढ्यो । ९० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो । जितसँगै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।
बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा चार अंकले मात्रै पछि रहेको छ । यो जितपछि च्याम्पियन्स लिगबाट बाहिरिसकेको बार्सिलोनाले ला लिगाको उपाधि होडमा आफूलाई बलियो दाबेदारका रुपमा उभ्याएको छ । हुएस्का ला लिगाको पुछारमा रहेको छ।