
नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज भएको छलफल सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा दुवै समूहबीच करिब २ घन्टा छलफल भएको थियो ।
आजको छलफलमा कुनै निश्कर्ष भने निस्केको छैन। छलफल सकारात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन्।प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच आज करिब ४ महिनापछि भेटवार्ता भएको हो। बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको नेपाल लगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनु पर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए। ओलीले नेता नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका भएपनि नेपालले एक्लै भेट्न अस्वीकार गरेपछि उनीहरुसहितका प्रतिनिधिहरु बीच आज छलफल भएको हो।
आजको वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका पाँच नेता सहभागी भएका थिए । यस्तै नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण विष्ट लगायतका नेता सहभागी भएका बताइएको छ।