काठमाडौँ – नेकपा एमालेका स्थायी समिति सदस्य भीम रावलले आफूहरू वामपन्थी एकताको पक्षमा रहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरू एमालेको एकताका पक्षमा रहेको बताए । ‘हामी हामी वामपन्थी एकताको पक्षमा थियौं र अहिले पनि छौं,’ उनले भने, ‘एकताबद्ध बनाउने भन्ने कुरा राख्यौं ।’छलफलमा फागुन २८ गते एमालेको ओली पक्षीय केन्द्रीय समिति बैठकले गरेका निर्णय आफूहरूलाई मान्य नहुने बताएको उनले जानकारी दिए ।
उनकाअनुसार वार्तामा नेपाल पक्षले आफ्ना कुरा राखे पनि कुनै सहमति भने भएन । ‘एमाले र माओवादी अलग भएपछि स्वाभाविक रूपमा हामी तीन वर्षअघिको अवस्थामा चल्नुपर्छ भन्ने स्पष्ट छ,’ उनले भने, ‘छलफलमा आ-आफ्ना धारणा राख्यौं । सम्पूर्ण काम एकताअघिको बिन्दूबाट सुरु हुनुपर्छ भन्ने धारण राख्यौं । २८ गते भयो भनिएको बैठकले गरिएका निर्णयको प्रभाव शून्य हुन्छ भन्ने तथ्यगत कुरा राख्यौं । सहमति भएन । हामी त्यसमा सहमत हुनै सक्दैनौं ।
पूर्ववत अवस्थामा गएको अवस्थामा गएन भने मान्य कुरा हुँदैन ।’ उनले यस विषयमा फेरि पनि छलफल हुने जानकारी दिए । तर, कहिले भन्ने यकिन नभएको उनले बताए ।