सिन्धुपाल्चोक – चार महिनादेखि बेपत्ता भोजपुर हतुवागढी–६ का २५ वर्षीय पुजन राईको मोटरसाइकल र जुत्ता भेटिएको छ । भोटेकोशी बसेरी ढुंगाखानीमा आधा डुबेको अवस्थामा क्षतिग्रस्त मोटरसाइकल बिहीबार भेटिएको हो ।
गत कात्तिक २८ गते बाह्रबिसे नगरपालिका वडा– स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक पदमा कार्यरत राई सीमा क्षेत्रको हिन्दी बजारबाट फर्किएपछि चाकु बजारबाट सम्पर्कविहीन भएका थिए ।जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार राईको गत मंसिर १ गते काभ्रेको ज्याम्दी र ६० घर पलाञ्चोकमा मोबाइलको जीपीआरएस ‘सिम लोकेसन’ देखिएको थियो । तर बिहीबार अचानक नदी र किनारमा क्षतिग्रस्त सवारीसहित जुत्ता भेटिएपछि सबैतिर खोजी कार्य तीव्र बनाइएको सापकोटाले उल्लेख गरे । ‘मोबाइलको लोकेसन त्यहाँ देखिएको थियो, बाइक र जुत्ता बाह्रबिसे नगरको बसेरी ढुंगाखानीमा भेटिएको छ, सबै कुराको ल्याब टेस्ट गर्न पठाइसकेका छाैं, स्थलगत अनुसन्धानलाई तीव्र बनाइँदैछ,’ उनले भने । ल्याब परीक्षणपछि मात्रै राईको मोटरसाइकल, जुत्ता कहिले डुब्यो, कसरीजस्ता तथ्य खुल्ने उनले बताए ।
त्यसबेला काभ्रेको ज्याम्दी र ६० घर पलाञ्चोकमा ‘लोकसन’ पाउने बित्तिकै प्रहरी दुुर्घटना या अन्य घटनाको शंकामा टोली घटनास्थलमा पुग्गेको थियो । तर केही भेटिएन । राईसँग चाकुसम्म फर्किएका स्थानीय राकेश श्रेष्ठसहित अन्य निकटलाई सोधपुछ गर्दापनि केही कुरा नखुलेपछि प्रहरी खोजी कार्यमै संलग्न थियो ।काभ्रेपलाञ्चोक र भोटेकोशी क्षेत्रको शंकास्पद स्थानमा राई खोज्न प्रहरी सक्रिय रुपमा खटिरहेका छन् ।