
कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न शुरू गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको ‘लाइफलाइन’ समेत रहेको पोखरा महानगरपालिका–२५ हेमजा–खानेपानी मुहान–लुम्रे–सिदिङ सडक खण्ड (मनिलाल मार्ग) कालोपत्रे गर्न शुरू भएपछि स्थानीय खुशी भएका छन् ।सडक निर्माणपछि माछापुच्छ्रे गाउँपालिकाका ९ वडाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । कूल १५ किलोमिटर ९०० मिटर सडकमध्ये ११ किलोमिटर कालोपत्रे र बाँकीमा ग्राभेलको काम भइरहेको छ ।
मेलबोटदेखि लुम्रेसम्म कालोपत्रे र ढलान हुनेछ भने घलेल क्षेत्रमा ग्राभेलको काम अघि बढेको छ । विक्रम संवत् २०५३ सालमा सडकखण्डको ट्रयाक खुलेकोमा २५ वर्षपछि पक्की कालोपत्रे सडक निर्माण शुरू भएको हो । हाल सो सडक खण्डको लुम्रे, खोराकोमुख क्षेत्रमा धमाधम कालोपत्रे भइरहेको छ ।मेलबोटदेखि मर्दीपुलसम्मको धेरै स्थानमा ढलानको काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनीयर नवराज शर्माले बताए । उनका अनुसार हालसम्म आयोजनाको ८० प्रतिशत हाराहारीमा काम सकिएको छ ।
गत वर्ष पुस मसान्तभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीको ढिलासुस्ती र कोरोनाका कारण चैत मसान्तसम्मको म्याद थप गरिएको बताइएको छ ।‘थप गरिएको म्यादभित्र सडक सम्पन्न गर्नका लागि निरन्तर ताकेता गरिरहेका छौं, प्रत्येक दिन प्राविधिकहरुले साइट निरीक्षण गरिरहनुभएको छ,’ आयोजना प्रमुख शर्माले भने, ‘घलेल क्षेत्रमा संरचनाको केही काम बाँकी छ, अन्यत्र कालोपत्र शुरू भएको छ ।’सडक स्तरोन्नति गरी कालोपत्र गर्नका लागि विक्रम संवत् २०७५ असार २९ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । गत वर्ष पुस मसान्तमा सडक निर्माण भइसक्नुपर्नेमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक तोकिएको समयभित्रमा सम्पन्न हुन सकेन ।
आयोजनाको २६ करोड १ लाख रुपैयाँ लागतमा हिमदुङ एन्ड थोकर र ड्रागन जेभीसँग सडक निर्माण सम्झौता भएको थियो । कालोपत्रे सडक नालीसहित ८ मिटर फराकिलो हुनेछ ।