नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ललितपुरको पाटनस्थित कुमारीछेँ र कुमारी निवास पुनर्निर्माण गर्न मंगलबार शिलान्यास गरेका छन् ।
उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्वसंस्कृतिमन्त्री तथा ललितपुरका पूर्वमेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्यामकिशोर सिंह, कुमारीछेँ उपभोक्ता समितिका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण एवं विकास प्रभागका अधिकारीको पनि सहभागिता थियो ।नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजना संरक्षण, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाइसकेको छ । सोही प्रतिबद्घता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदामध्येको कुमारीछेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो । यी २८ वटा क्षेत्र नेपाल सरकारले पहिचान गरेका हुन् । यी परियोजनाको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाईले गरिरहेको छ ।
२०७२ सालको भूकम्पले क्षति पु-याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारीछेँ र कुमारी निवासको संरक्षण गरिने छ ।