
नेपाल उद्योग वाणिज्य महासंघले आउँदो चैतभित्रै आर्थिक विकाससम्बन्धी भिजन पेपर ल्याउने भएको छ । गत मंसिर १५ गते कार्यभार सम्हालेको महासंघको नयाँ कार्यसमितिले सय दिन पूरा गरेको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भिजन पेपरका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
चैत २८ मा हुने महासंघको ५५ औं साधारणसभाअगाडि नै भिजन पेपर सार्वजनिक गरिनेछ ।महासंघ ‘सम्मानित निजी क्षेत्र, समुन्नत नेपाल’ नाराअनुसार अगाडि बढिरहेको र भिजन पेपरबाट यसलाई थप प्रस्टता तथा विस्तृत कार्ययोजना पनि ल्याइने जानकारी अध्यक्ष गोल्छाले बताए । “हामी चैतको साधारणसभाअगावै भिजन पेपर ल्याउने प्रतिबद्धताअनुसार काम गरिरहेका छौं,” अध्यक्ष गोल्छाले भने, “कार्यान्वयनको योजना र कार्यक्रमसहितको भिजन पेपर ल्याउनेछौं ।” उनका अनुसार भिजन पेपरमा १० प्राथमिकता प्राप्त क्षेत्र रहनेछन् ।भिजन पेपर राष्ट्रिय आर्थिक रूपान्तरण मार्गचित्र–२०३० को अवधारणाअनुसार ल्याउन लागिएको छ । सन् २०३० भित्र यसका निम्ति समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा तयार भएको अध्यक्ष गोल्छाले बताए । उनका अनुसार भिजन पेपरले सो अवधिभित्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब पु¥याउने र प्रत्येक वर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
“सबै क्षेत्रलाई समेटेर र कार्यान्वयन योग्य हुने गरी भिजन पेपर ल्याउँदै छांै,” उनले भने, “भिजन पेपरमा स्पष्ट कार्ययोजना र समय तालिका पनि हुन्छ, सोअनुसार कार्यान्वयनमा जान्छ, यसका लागि छुट्टै टिम बनाउँछौं ।” उनका अनुसार भिजन पेपरमा तत्कालीन र दीर्घकालीन गरी १ सय अभियानहरू समेटिएका छन् ।चुनौतीपूर्ण समयमा भिजन पेपर ल्याउन लागिए पनि यसका लागि अन्तर्राष्ट्रिय विकास मोडलको अभ्याससमेत हेरिएको उनको भनाइ छ । नेपालको विकासका लागि कुन देशको मोडल उपयुक्त हुन्छ भनेर अध्ययन भइरहेको गोल्छा बताउँछन् ।भिजन पेपरमा कृषि, सेवामूलक क्षेत्र र उत्पादनमूलक उद्योगलाई नै आर्थिक विकासको आधार मानिएको छ, जसमा नेपाललाई एसियाको प्रमुख सेवा केन्द्र बनाउने, तुलनात्मक लाभका उद्योगमात्र सञ्चालन गर्ने तथा निर्वाहमुखी कृषिबाट उत्पादनमुखी कृषिमा रूपान्तरण गर्ने योजना रहेका छन् । यस्तै, दोहोरो अंकको वृद्धि यसका लागि मुख्य सर्तका रूपमा अघि सारिएको छ ।
नेपालमा रहेका सम्भावनाहरूको विश्लेषण भिजन पेपरमा गरिएको छ भने साना तथा मझौला व्यवसाय, स्टार्टअपलाई अर्थतन्त्रको मेरुदण्ड मानेर सोहीअनुसार योजना अघि सारिनेछ । यस्तै, पूर्वाधारमा लगानीको प्राथमिकता निर्धारण तथा ज्ञानमा आधारित अर्थतन्त्रको विकासलाई पनि भिजन पेपरमा समेटिएको छ । श्रम व्यवस्थापनलाई पनि यसमा जोडिएको छ । महासंघले जिम्मेवार निजी क्षेत्रको अवधारणा पनि भिजन पेपरमा अगाडि सार्ने भएको छ । यस्तै, स्थानीय सम्भावनाको मूल्यांकन गर्ने जनाइएको छ ।सय दिनका उपलब्धि उत्साहजनक रहेको महासंघको दाबी छ; जसमा विधानअनुसार गठन हुनुपर्ने परिषद्, समिति र फोरम गठन गरिएको उल्लेख छ । जसमा परिषद्, फोरम र समिति बनाउँदा नै टिओआर दिइएको अध्यक्ष गोल्छाले बताए । यस्तै, विधान संशोधनलाई सर्वसम्मत बनाउने उनको भनाइ छ । वि.सं. २०७८ भित्र विधान संशोधन हुने जनाइएको छ र यसका लागि पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको समितिले कार्यतालिकाअनुसार काम गरिरहेको उल्लेख गरिएको छ ।
महासंघको सचिवालय र पूर्वाधार सुदृढीकरण गर्ने काम भइरहेको अध्यक्ष गोल्छाले बताए, जसमा हलहरूको स्तरोन्नति तथा नयाँ भवन निर्माण गर्ने काम अगाडि बढेको छ । कोषाध्यक्ष सुकुन्तलाल हिराचन नेतृत्वमा समितिले नयाँ भवन बनाउने र सो भवनमा वस्तुगत संघहरूको समेत कार्यालय रहने उल्लेख छ । यस्तै, प्रदेश संरचनालाई पनि प्रभावकारी बनाउने, प्रदेश सञ्चालन नियमावली बनाइने तथा सफ्टवेयरमार्फत प्रदेश सञ्चालन गरिने जनाइएको छ ।
महासंघले उत्पत्ति प्रमाणपत्र व्यवस्थापनका लागि तीन उपाध्यक्ष र कोषाध्यक्ष रहेको कार्यदल गठन भएको जनाएको छ । यस्तै, कृषि उद्यम केन्द्रमार्फत अनुसन्धान पनि गर्ने भएको छ । महासंघमा सदस्य सेवा केन्द्र स्थापना गरिएको र यसमार्फत कर, राजस्व, बैंकिङ र श्रम समस्याबारे सम्बोधन हुने उल्लेख छ । महासंघले औद्योगिक तथ्याङ्कका क्षेत्रमा पनि काम गर्ने जनाएको छ ।
महासंघका आगामी कार्ययोजनामा भिजन पेपर कार्यान्वयन युनिट स्थापना गर्ने तथा ५० नयाँ उद्यमीलाई सुरु पुँजीसहित उद्यम गर्न सघाउने जनाइएको छ । यस्तै, चेम्बर र सीएनआईसँग सहकार्य एवं कार्यगत एकता गर्ने जनाइएको छ ।