२६ कार्तिक २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

काठमाडौं – कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना थालिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो चरणमा चितवन ब्लक अन्तर्गत राखिएको पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणना शुरु गर्न लागेको हो । विभागका सूचना अधिकारी पर्यावरणविद् हरिभद्र आचार्यका अनुसार चितवन र पर्सासँगै गणना गरिने छ । यसै बीचमा चैत १७ गतेदेखि बर्दियामा र १९ गतेदेखि शुक्लाफाँटामा गणना शुरु गर्ने उनले जानकारी दिए ।आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारै निकुञ्जमा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेबाट गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । गणना गर्नुअघि चैत ५ देखि ७ गतेसम्म गणक, माउतेलगायत कर्मचारीलाई तालीम दिइँदै छ । गणनामा दुई सय बढी कर्मचारी परिचालन हुने छन् जसमध्ये १५० हाराहारी चितवन ब्लकमा परिचालन हुनेछन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जलाई चितवन ब्लकमा राखिएको छ । यस क्षेत्रमा गणनामा ४० हात्ती परिचालन गरिनेछ ।

बर्दिया र शुक्लाफाँटामा भने सात÷आठवटा हात्ती परिचालन गरे पुग्नेछ । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुन सकेको थिएन ।सरकारले गत वर्ष गैँडा गणनाका लागि रु एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरीद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताहरुबाट रु २५ लाख हाराहारी सहयोग हुने उनले जानकारी दिए ।राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायत सङ्घसंस्थाको सहयोगमा गणना गरिँदैछ । हरेक ५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गणना गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतका प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५–५ वर्षमा उक्त गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने बरालले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको कसरा पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढी छ । गणनापछि ती गैँडालाई बासस्थान व्यवस्थापन गरी पूर्वमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको बरालले बताए ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६०५ थिए । सरकारले पहिलोपटक सन् १९९४ मा गैँडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गणना भएको अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]