
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् ।
सोमबार १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनको चुनौती रहेको भन्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरुको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिइ संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
यस्तैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।