
सरकारले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउने भएको छ । नेपालको साइबर सुरक्षालाई लिएर समय समयमा आवाज उठ्दै आएकोमा यसप्रति गम्भीर हुँदै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको साइबर सुरक्षा अडिट गराउन कम्पनी छनोट गरेको हो ।
प्राधिकरणले चालू वर्ष ०७७-७८ देखि लागू गरेको साइबर सुरक्षासम्बन्धी विनियमावलीको प्रावधानअनुसार सूचना प्रणाली अडिटर (आईएस अडिटर) र क्लाउड अडिटर कम्पनीहरूको रोस्टरलाई आइतबार अन्तिम रूप दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै ७ वटा कम्पनी छनोट गरेको जनाएको छ । आईएस र क्लाउड अडिटरको सूचीमा भारत र संयुक्त अरब (यूएई)सँगै नेपाली कम्पनी छन् । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सात कम्पनीमध्ये तीन कम्पनी भारतीय छन् । एउटा कम्पनी भने नेपाली र भारतीय संयुक्त हो । भारतीय कम्पनी एप्टिसा इण्डिया लिमिटेड, बीडीओ इण्डिया एलएलपी र प्राइसवाटर हाउस कुपर्स रहेको प्राधिरकणको सूचीमा उल्लेख छ ।
प्राधिकरणका अनुसार छनोट हुने अन्य कम्पनीमा भारतीय कम्पनी आनन्द जङ्गिद एण्ड एसोसिएट्स र एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन्ससँगको सहकार्यमा नेपाली कम्पनी आनन्द जङ्गिद एण्ड एसोसिएट्स छ । यूएईको एस–३ टेल पनि छानिएको छ । नेपाली कम्पनीहरू एमिनेन्स वेज र बिजसर्भ आईटीलाई प्राधिकरणले सूचना प्रणाली अडिटरको रूपमा छानेको छ । साइबर सुरक्षा बलियो बन्दै जाँदा आपराधिक गतिविधिमा कमी हुने अनुमान गर्न सकिन्छ ।देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन । सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्स लगायतका कम्पनीका सिस्टममा अझै आक्रमण भइरहेका छन् । कतिपय अवस्थामा नेपाल साइबर अपराधको अखडा बन्ने हो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् । यसलाई पुष्टि हुने गरी विभिन्न थरिका साइबर अपराधका घटनासमेत भइरहेका छन् ।
हाल साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट आउँछन् भन्ने बुझिन्छ । र, त्यस्ता घटनालाई सामान्य रूपमा लिँंदा झनै समस्या निम्तिरहेको छ ।
अहिले सामाजिक सञ्जालमा गाली, मानहानि वा चरित्र हत्याका पोस्टमात्रै हुने गरेका छैनन् । यही माध्यमलाई अपनाएर ठूला कर्पोरेटमा आक्रमणसमेत हुन थालेका छन् । फेसबुकमा नचाहिने ‘स्पाम’ छोडेर लक्षित कर्पाेरेट सेक्टरलाई पठाउने क्रम बढेको छ ।