काठमाडौं – ताप्लेजुङको दोभान बजारमा मङ्गलबार आगलागी हुँदा १५५ तोला बराबर सुन र ५२० तोला बराबरको चाँदीका गरगहना जलेर नष्ट भएको छ । त्यो सँगै चामल ४१ हजार १७५ केजी, अलैँची २९ हजार ६१७ केजी जलेर नष्ट भएको छ । अन्य घरायसी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेको मेरिङदेन गाउँपालिकाले जनाएको छ ।
जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङदेन गाउँपालिका–३, खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ५० वटा घर जलेर नष्ट भएका थिए ।आगलागीबाट कुल ४० करोड पाँच लाख २४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको छ ।