काठमाडौं – नेपाली सेनाको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ जंगी अड्डामा शुरु भएको छ । प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा उक्त बैठक शुरु भएको हो ।
बैठक शुभारम्भका क्रममा मन्तब्य राख्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यवसायिकता, लगनशीलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गर्नु भएको नेपाली सेनाले जनाएको छ । प्रधानमन्त्री ओलीले ६-६ महिनामा आयोजना हुने रणनीतिक तहको यस बैठकले विगतको गहन समीक्षा सहित नेपाली सेनाको भावी कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रुपले विश्वस्त रहेको समेत बताउनु भएको थियो ।
सो अवसरमा प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेको र यो समन्वयात्मक वैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भइरहेका कार्यहरुको बारेमा समीक्षा गर्ने बताउनुभयो ।उहाँले सेनाको कार्य संचालनमा आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न बैठकले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, व्यवसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो।
समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरु सहितको प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम रहेको छ । यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै पृतनाका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति रहेको थियो ।