तुलसीपुर उपमहानगरपालिका–१९ विजौरी धेरै वर्षसम्म बाँझो जग्गा केही वर्षयता हरियालीमा परिणत भएको छ ।
उक्त जग्गामा लटरम्म फलेका कागतीका बोटैबोटमा देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यही कागती अवलोकन गर्नेहरुको उत्तिकै भीड पनि ।तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय बनेको छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।घोराहीमा वार्षिक तीन हजार रुपैँया प्रतिकट्ठा र तुलसीपुरमा दुई हजार पाँच सयमा जग्गा भाडामा लिएर रुकुमका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका छन् । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण ती युवाहरुलाई हेर्न सकिन्छ ।
उनीहरुले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उनीहरुले वार्षिक १५-२० लाखको हाराहारीमा आम्दानी गर्ने गर्छन् ।कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगानी उठाउन सहज हुने उनीहरू बताउँछन् । उनीहरूका अनुसार शुरुवाती समयमा ३० लाख लगानी भएको थियो भने हालसम्म करिब एक करोडको लगानी भइसकेको छ । अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । जुन कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताउँछन् । “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्याई छ”, उनीहरू भन्छन्, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।”
दाङका दुई स्थानमा यसरी खेती गरेको भन्दै यसलाई विस्तार गरेर देशैभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले भने, “अहिले हामी दुईजना छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौं” । उनी भन्छन्, “त्यसका लागि १०८ जना किसान थप गर्ने हाम्रो योजना छ ।” उनका अनुसार उत्पादन भएका कागती देशभर पु¥याउने योजना छ ।कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको व्यवसायी वलीको भनाइ छ ।
आफूहरुले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना पनि उनले बनाएका छन् । एउटा बिरुवाको फुटकरमा दुई सय ५० मा बिक्री गर्ने गरिएको छ ।