
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले दाहाल–माधव पक्ष संकटमा परेको जिकिर गरे ।
मंगलबार काठमाडौंमा आयोजित एक अन्र्तक्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहाने दाहाल–माधव पक्षलाई नै संकट परेको बताए । उनले दाहाल–माधव समूह प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए ।उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होइन, संकटचाहिँ उहाँलाई संकट पार्न खोज्ने अथवा उहाँलाई पदच्युत गर्न चाहाने दाहाल कमरेड र माधव कमरेडहरूको टिमलाई नै परेको जस्तो देख्छु म आजको मितिसम्म आइपुग्दाखेरी । किनभने उहाँहरूसँग फ्रन्ट गियरभन्दा पनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो ।
पुस ५ गते उहाँहरूले हठात प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको थियो । त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ । अब भोलिका दिनमा परिस्थिति उहाँहरूको निमित्त झन असहजतातर्फ गइरहेको छ ।’नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतीपूर्ण हुने बताए । फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमानमै सीमित हुने पनि उनको भनाइ छ ।
उनले भने, ‘कम्युनिष्ट पार्टी फुटेको कुरा हामिले नस्वीकारेको अवस्थामा र वर्तमान सरकार विरुद्ध औपचारिक ढंगले कुनै अविश्वासको प्रस्तावलगायतका कुनै पनि प्रस्तावहरू नआइरहेको सन्दर्भमा कुनै नैतिक प्रश्न प्रधानमन्त्री माथि उठ्ने स्थिति पनि छैन र २३ गतेको संसदबाट सरकार परिवर्तन हुन्छ भन्ने अनुमान, अनुमानमै सीमित हुने होकि भनेजस्तो लक्षण देखिँदैछ ।’
दाहाल–माधव पक्षले औपचारिक रूपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरू केपी शर्मा ओली पक्षमा आउने उनले दाबी गरे । दाहाल–माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितिय हैसियतमा संकटमा परेको उनको भनाइ थियो ।