
बलिउड कलाकार सोनु सूदले दिल्लीमा उपचाररत एक जना नेपाली युवकलाई उपचारमा सघाउने भएका छन् ।
एंकिलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित मधु पौडेल नाम गरेका एक नेपाली युवकको उपचारमा कलाकार सूदले सघाउने भएका हुन् । केही दिनअघि मधुले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै सूदसँग सहयोग मागेका थिए । उनले लेखेका थिए, ‘हेल्लो सर, म नेपालबाट मधु पौडेल हुँ । १० वर्षदेखि म एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित छु । यसैका कारण मैले कक्षा १० मै पढाइ छाड्नुपऱ्यो । एम्स अस्पतालका डाक्टरहरुले मलाई अपरेसन गर्न सुझाव दिएका छन् तर मसँग त्यसका लागि पैसा छैन । कृपया मलाई सहयोग गरिदिनुहुन्छ कि ।’
सोमबार ट्वीट गर्दै सूदले मधुको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले लेखेका छन्, ‘अतिथि देवो भव: । भारतबाट तपाईँ आफ्नो देश नेपाल बिनालट्ठी दौडँदै जानुहुनेछ ।’
कस्तो रोग हो एंकोलोजिङ स्पोन्डिलाइटिस ?:
एंकोलोजिङ स्पोन्डिलाइटिस जोर्नीसम्बन्धी दुर्लभ रोग मानिन्छ । यो एक इन्फ्लेमेटरी अटोइम्युन बिमारी हो । जसले कम्मरको हड्डीलाई प्रभावित गर्छ । कम्मरको जोर्नी सुन्निने कारण एंकोलोजिङ स्पोन्डिलाइटिस हुने चिकित्सकहरु बताउँछन् । यसका कारण विभिन्न जोर्नीका लिगामेन्ट्समा समेत समस्या देखिन सक्छ ।