बागलुङ – बागलुङको विकट गाउँ सल्यानमा पहिलो पटक केन्द्रीय बिजुली बलेको छ । बरेङ गाउँपालिका वडा नम्बर ४ मा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले सेवा विस्तार गरेर पहिलो पटक बत्ती बालेको हो ।
प्राधिकरणले यो वडामा ४५ लाख रुपैयाँ खर्चेर विद्युत् सेवा सञ्चालन गरेको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । गाउँका ११ विपन्न परिवारलाई निःशुल्क मिटर जडानसमेत गरिएको छ । यहाँका बासिन्दा लामो समयदेखि लघु विद्युत्को भरमा बसेका थिए ।विद्युत् सेवा विस्तार भएपछि बालबालिकालाई पढाइमा सहज भएको स्थानीय जनबहादुर खत्रीले बताए । यो सेवा सुखौरामा पनि पुरयाइने गोशलीले जानकारी दिए ।
केही समयअघि प्राधिकरणले बुर्तिवाङ र बडिगाडमा पनि केन्द्रीय विद्युत् पुर्याएको थियो ।