भौगोलिक विकटताले पछाडि परेको जुनीचाँदे गाउँपालिका पाटनको फेदमुनिको निपाने बस्तीमा खेतिपाती गरे पनि धेरै उत्पादन हुँदैन ।
बाह्रैमहिना खेतिपातीमा जुटे पनि वर्षभरि खाना पुग्ने अन्न फलाउन नसकेपछि भेडापालन व्यवसायमा लागेका जुनीचाँदे गाउँपालिका–७ निपानेका नैनसिंह घर्तीको जीवनशैली हाल फेरिएको छ । भेडापालन व्यवसाय गरेपछि आयआर्जनमा सुधार आउनुका साथै उहाँको जीवनशैली फेरिएको हो ।कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौंमा २०७४ सालमा जुनी हर्वल एग्रो प्रालि नामक संस्था दर्ता गरी उहाँले विधिवत् व्यवसाय शुरु गर्नुभएको थियो । भेडाको मासु, ऊन र मलले राम्रो आम्दानी हुने देखेपछि घर्ती भेडापालनप्रति आकर्षित हुनुभएको थियो ।दुर्गम जुनीचाँदेमा आम्दानीको स्रोत नहुँदा वर्षभर श्रम गर्दा पनि खाना खानै नपुग्ने, छोराछारी पढाउन सकस भएपछि यस व्यवसायमा लागेको र हाल घर व्यवहार चलाउन सहज भएको व्यवसायी घर्तीले वताउनुहुन्छ । निजी लगानीमा व्यवसाय शुरु गरेका घर्तीको गोठमा हाल १ सय ५० वटा भेडा छन् ।हाल छोराछोरीको इच्छाअनुसार पढाइरहेको उहाँको कथन छ । जेठी छोरी लक्ष्मी चुरे माध्यामिक विद्यालय बर्दियामा पढ्छिन् । आईएसीएजी पढ्दै छिन् महिली छोरी खिमा । साइँली छोरी मीना, छोरा ओमप्रकाश र कान्छी छोरी पुष्पा गाउँकै विद्यालयमा पढिरहेका छन् ।
गत वर्ष भेडापालनबाट ३ लाख ३३ हजार तथा यस वर्ष ५ लाख आम्दानी गरेको उहाँ बताउनुहुन्छ । भेडिगोठमा हाल २ साँढ, १८ थुमा, २५ पुर्सा र १ सय ५ वटा माउ भेडा रहेको घतीको कथन छ । भेडा गोठालो ३ जना आवश्यक पर्ने भएकाले दुई जना ज्यालादारीमा गोठालो उहाँले राख्नुभएको छ ।जुम्ला कालिकोट र दैलेखको सिमानामा पर्ने चाँदेपाटन भेडापालन व्यवसायको उपयुक्त स्थान भएकाले व्यवसायबाट राम्रो आम्दानी भएको घर्ती बताउनुहुन्छ ।नस्ल सुधारका लागि जुम्लाको गोठीचौरबाट अस्ट्रेलियन मेरिनो जातको साँढ र डोटीबाट ढोरल जातको साँढ उहाँले ल्याउनुभएको छ । मासुबाट आम्दानी गर्न ढोरल जातको भेडा र उनबाट आम्दानी लिन अस्ट्रेलियन मेरिनो जातको भेडा पाल्न उपयुक्त भएको उहाँ सुनाउनुहुन्छ । घर्तीलाई साँढ ल्याउन र खोर निर्माणका लागि गाउँपालिका र जिल्ला पशु सेवा कार्यालयले दुई वर्ष पहिले अनुदानसमेत दिएको थियो ।
भेडापालन व्यवसयसँगै किवीखेती शुरु गरेका घर्तीले यस वर्ष २ सय बिरुवा लगाउनुभएको छ । तीन वर्ष पहिले लगाएका ४५ वटा बिरुवाले यस वर्षदेखि ६० हजार आम्दानी दिएको उहाँको भनाइ छ ।