काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाउने भएका छन् ।
सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण यस्तो भएको हो । लघुवित्तको आईपीओमा आवेदन गरेका ३७ हजार ५०० जनाले मात्र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार हात पार्ने भएका छन् ।
लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार लघुवित्तको आईपीओमा उच्च आवेदन परेका कारण साढे २ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट शेयर पाउने भएका हुन् ।
बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका छन् । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।
लघुवित्तको आईपीओ सदर आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली हुनेछ । जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो ।