नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले अब पुनः पार्टीलाई एकढिक्का बनाउनेबारे सोच्ने बेला आएको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्चालमार्फत आफ्नो धारणा राख्दै रिजालले सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेताहरूलाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको भनाइ राखेका छन् । पार्टी दुई खेमामा बाढिएपछि प्रचण्ड–माधव नेपाल पक्षमा लागेका रिजालले धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बॉकी नै भएकाले एकताका लागि आ–आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने वेला आएको बताएका हुन् । ‘आवेग, उत्तेजना र अहम् क्षणिक हुन् भने देश, पार्टी र युवा पुस्ताको भविष्य दीर्घकालीन हो’ रिजालले भनेका छन्, ‘त्यसैले पछिल्ला घटनाबाट पाठ सिक्दै सबै नेताहरुले आ–आफ्ना सीमा र सवलता बुझ्न सक्दा नेकपा एकीकृत रूपमा अघि बढ्न सक्छ ।’
एकता विथोलिएको देखे–भोगेका नेता–कार्यकर्ताले आगामी दिनमा सजगतापूर्वक एकता बचाउन सक्ने धारणा रिजालले व्यक्त गरेका छन् ।