उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरू भएको बताएका छन् ।
आइतवार बिहान प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले औद्योगिक प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने बताएका हुन् ।’प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउँदै हुनुहुन्छ,’मन्त्री भट्टले भने,’ सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।’
९ अर्बको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको भट्टले बताए ।’कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाह को अध्ययन प्रतिवेदनको काम अगाडी बढी सकेको छ ,’मन्त्री भट्टले भने,’विशेष गरी यो क्षेत्रका खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु भएको छ। बैतडीमा रहेको फलाम खानीको पनि यो वर्ष भित्र काम अघि बढ्ने छ।’निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको मन्त्री भट्टले बताए ।गेटा मेडिकलको भौतिक पूर्वाधार निर्माणको कार्य सकिँदै छ,प्रधानमन्त्री र शिक्षामन्त्री सँग कुराकानी भएको छ,उनले भने,’अब त्यो मेडिकलमा रहेको समितिले पनि अध्ययन गर्दै छ होला । यसले सुदूरपश्चिमको मात्रै नभएर देशकै मेडिकल क्षेत्रमा योगदान पुर्याउने भएकाले विश्वविद्यालयको रूपमा विकास गर्नुपर्छ।’
साथै मन्त्री भट्टले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका छन् । निर्धारित मितिमै निर्वाचन हुन्छ,’ उनले भने,’चुनावका लागि निर्वाचन आयोग गृह कार्यमा लागिसकेको छ।’