१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

काठमाडौं – कीर्तिपुर नगरपालिकाको बाघभैरव सामुदायिक वन क्षेत्रमा सालक पदमार्ग घोषणा गरिएको छ।

१० औं विश्व सालक दिवसका अवसरमा घोषणा गरिएको यो नेपालको पहिलो सालक पदमार्ग हो। ‘यो क्षेत्र सालकको बासस्थान हो,’ साना स्तनधारी जीव संरक्षण तथा अनुसन्धान फाउन्डेसनसँग आबद्ध अनुसन्धानकर्मी तुलसीलक्ष्मी सुवालले भनिन्, ‘संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन र संरक्षण सन्देश विस्तार गर्न पदमार्ग घोषणा गरिएको हो।’बाघभैरव सामुदायिक वन क्षेत्रको सीमाबाट आरम्भ भएको सो पदमार्ग झन्डै पाँच किलोमिटर छ। पदमार्ग पूरा गर्न दुई घण्टा हिँड्नुपर्छ। पदमार्गबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।सालकमै विद्यावारिधि गरिरहेकी सुवालले भनिन्, ‘सम्भवतः यो विश्वकै पहिलो सालक पदमार्ग हो।’

सालक चिनाउन गाइड :
पदमार्ग घोषणा कार्यक्रममै बाघभैरव सामुदायिक वनमा तालिमप्राप्त ‘सालक गाइड’ हरू पनि तयार पारिएको छ।
गाइडले आगन्तुक पर्यटक तथा अनुसन्धानकर्मीलाई सालकसम्बन्धी जानकारी दिनेछन्।‘यस क्षेत्रमा पर्यापर्यटनको विकास गर्न सालक गाइड तयार पारेका हौं,’ सुवालले भनिन्, ‘हामीले ३२ जनालाई सालक संरक्षण तालिम दियौं। तीमध्ये तीन जनालाई व्यावसायिक सालक गाइडका रूपमा चयन गरेका छौं।’

पदमार्गका विभिन्न स्थानमा सूचना पाटी र निर्देशक चिह्न राखिएका छन्।पदमार्ग स्थापनामा बाघभैरव सामुदायिक वन, कीर्तिपुर नगरपालिका, साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसन (एसएमसीआरएफ) लगायतका सघंसंस्थाको संलग्नता छ।

नेपालमा सालक :
सालकले कमिला र धमिराको संख्या नियन्त्रण गर्छ। सुवालका अनुसार सालकले माटो खन्छ र प्वाल पार्छ। यसबाट माटोमा अक्सिजन प्रवाह भई उर्वरा शक्ति बढ्छ।

‘यसको माटो खन्ने, प्वाल बनाउने क्रियाकलापले गर्दा सर्पलगायतका जीवलाई बाससस्थान उपलब्ध हुन्छ,’ सुवालले भनिन्, ‘तसर्थ, इकोलोजीमा सालकको महत्त्वपूर्ण भूमिका छ।’ लजालु स्तनधारी जन्तु सालक किसानका साथी मानिन्छन्। सालकले मानिसलाई हानि गर्दैन। किरा र कमिलालाई आहारा बनाउने सालकको संख्या भने घटिरहेको अनुमान सुवालको छ।विश्वमै अति दुर्लभ मानिने सालक नेपालमा कालो र तामे गरेर दुई प्रकारका पाइन्छन्। चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ। नेपालका ६२ वटा जिल्लामा सालक पाइने सुवाल बताउँछिन्।

एसिया र अफ्रिकामा मात्र सालक पाइन्छ। आठ प्रजातिका सालकमध्ये दुई प्रजातिको सालक नेपालमा पाइन्छ।‘सालक पाइने जिल्लाको संख्या बढेको छ तर त्यसबाहेक सालकबारे थाहा पाउनुपर्ने कुरा धेरै बाँकी छन्। सालक संरक्षण गर्नुपर्छ भन्ने कुरा विश्वमा त्यति सुनिएको छैन। यो कुरा दुःखलाग्दो छ,’ प्राणीशास्त्री प्रा. डा. करन शाहले नेपाल समयसँग भने। विगतका अध्ययनअनुसन्धान तथा अनुभवबाट पाठ सिक्दै संरक्षणका कार्य अघि बढाउनुपर्ने तर्क राख्दै शाहले हालका अनुसन्धान सन्तोषजनक नभएको बताए।

‘सालकको खानाको बानी र आकारप्रकारबारे जानकारी खोज्नुपर्छ,’ शाहले भने।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय प्राणीशास्त्र विभाग प्रमुख प्रा. डा. तेजबहादुर थापा संरक्षणको काममा स्थानीय तह पनि संलग्न हुनुपर्ने धारणा राख्छन्। ‘अब स्थानीय तहले पनि जैविक विविधताका क्षेत्रमा काम थाल्नुपर्छ अनि मात्र संरक्षणको काम प्रभावकारी हुन्छ,’ थापाले भने, ‘स्थानीय तहमा पनि संरक्षण अधिकृत नियुक्त गरेर काम थाल्नुपर्ने बेला आइसकेको छ।’

प्राणीशास्त्री प्रा. डा. झमकबहादुर कार्कीले संरक्षण सजिलो नभए पनि प्राणीशास्त्रका विद्यार्थीले संरक्षणमा लाग्नुको विकल्प नभएको बताए। ‘ठूला जनावरको संरक्षणका लागि बजेट उपलब्ध हुन्छ तर साना जीवजन्तुको संरक्षण प्राथमिकतामा परेको छैन। बजेट पनि उपलब्ध छैन,’ कार्कीले भने, ‘यस्तो अवस्थामा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले गरेको कार्य सराहनीय छ।’साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका सागर दाहालले संस्थाले सन् २०१८ देखि नै सालकको अध्ययन गर्ने क्रममा क्यामरा ट्रयाप विधिबाट सालकको अध्ययन थालेको जानकारी दिए।उनले सालकको वासस्थान विनाश हुनबाट जोगाउन सालक पाइने वनक्षेत्रमा स्थानीय समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको बताए।

‘हामीले चम्पादेवी, चन्द्रागिरिमा सफाइ अभियानलाई वर्षैभरि सञ्चालन गर्ने कार्यक्रम बनाएका छौं,’ दाहालले भने, ‘यो क्षेत्र सालकलगायतका प्राणीको वासस्थान भएकाले उनीहरुको बिस्टामा प्लास्टिक देखिएकाले यो क्षेत्रमा सरसफाइ गर्नुपर्ने देखिएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]