दक्षिण अस्ट्रेलियाका वाइन निर्माता ज्यारड ह्वाइटले चीनमा लगभग एक दशक व्यापार गरे । अहिले केही महिनाको अन्तरमा त्यो चकनाचुर भएको छ ।
ह्वाइटले तयार पारेको वाइनको गुणस्तर खराब भएको हैन । चीन र अस्ट्रेलियाबीच महिनौंदेखि चलिरहेको कूटनिितक विवादका कारण यस्तो स्थिति आएको हो । ह्वाइट शांघाईमा कैयौं वर्षसम्म बसे अनि जार्रेसा ईस्टेट वाइन चीनको बढ्दो बजारमा बेच्नका लागि वितरकहरूको सञ्जाल बनाउन व्यस्त भए । चीनको मध्यमवर्गमा विदेशी वाइनको माग द्रुत गतिमा बढिरहेको छ । सन् २०२० को मध्यसम्ममा जार्रेसा ईस्टेटका वाइनहरूमध्ये ९६ प्रतिशत चिनियाँ ग्राहकलाई बेच्ने गरिएको थियो । त्यो भनेको वर्षको ७० लाख बोतल जति हो ।
तर नोभेम्बर महिनामा बेइजिङले अस्ट्रेलियाको वाइनमा भारी आयातशुल्क लगायो । यी वाइनहरू चीनमा अति नै सस्तो मूल्यमा बेचिएको हो कि भनी एन्टी–डम्पिङ अनुसन्धान गर्दै आयातशुल्क बढाइएको हो । चीनका वाइन उत्पादकहरूबाट गुनासो आएकाले सरकारले अनुसन्धान थालेको बताइएको छ । त्यसपछि ह्वाइटले एउटा बोतल पनि बेच्न सकेका छैनन् । अहिले जार्रेसा ईस्टेटका हजारौं बोतल वाइन एडलेडको गोदाममा थन्किएर बसेका छन् । आयातशुल्क कहिले हटाइएला भनी तिनले प्रतीक्षा गरिरहेका छन् । ‘यसले हामीलाई नाटकीय रूपमा क्षति गरिरहेको छ । हामीले पठाएका विभिन्न सामानको भुक्तानी लिनै बाँकी छ र अर्डर पूरा गर्न पनि पाइएको छैन,’ ह्वाइटले बताए ।
उनी जस्तै सयौं अस्ट्रेलियाली वाइन उत्पादकहरू चीनको बजारमा आश्रित थिए तर उनीहरूको भविष्य अन्योलमा छ । चीन आयात हुने वाइनको मूल्य डिसेम्बरमा लगभग शून्यमा झरेको वाइन अस्ट्रेलिया नामक औद्योगिक समूहको आँकडमा देखिन्छ । सन् २०२० मा चीनतर्फ निर्यात गरिएको वाइनको कुल मूल्य १४ प्रतिशतले झरेको थियो । स्थानीय बजारलाई संरक्षण गर्नका लागि सस्तो वाइन आयातमा रोक लगाउनुपर्ने चीन सरकारको तर्क छ । तर चीन र अस्ट्रेलियाबीचको तनावका कारण अहिलेको स्थिति आएको अस्ट्रेलियाको वाइन उद्योगको कथन छ ।
यो वाइनको मात्र कुरा हैन । क्यानबेरा र बेइजिङको सम्बन्ध बिग्रँदै जाँदा अस्ट्रेलियाबाट निर्यात हुने गाईको मासु र काठ पनि चीनको बजारमा प्रवेश गर्न बाधा अवरोध आइरहेको छ । यसमा छिट्टै सुधार आउला भन्ने विषयमा आशा गर्ने ठाउँ छैन ।