विराटनगर – जिल्ला सरकारी वकिल कार्यालय मोरङको काम कारबाही आइतबारदेखि नयाँ र सुविधा सम्पन्न नयाँ भवनबाट सुरु भएको छ।
प्रदेश १ को राजधानी विराटनगरमा निर्माण सम्पन्न भएको नयाँ भवनको महान्यायाधीवक्ता अग्नी खरेलले भर्चुअल माध्यमबाट शनिबार उद्घाटन गरेका हुन्। उद्घाटनसँगै कार्यालयको सबै काम कारबाही नयाँ भवनबाट गर्न थालिएको हो। तीन करोड १४ लाख ८२ हजार चार सय २५ रुपैयाँको लागतमा तीन कट्ठा क्षेत्रफलमा भवन बनेको हो। भवनमा २३ वटा सुविधा सम्पन्न र अत्याधुनिक कोठाहरु छन्। जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले अत्याधुनिक भवनमा अपाङ्गता र पीडित मैत्री कक्षहरु रहेको जानकारी दिए। साथै पुस्तकालय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको व्यवस्था रहेको उनको भनाइ छ। कार्यक्रममा महान्यायाधीवक्ता खरेलले तीन वर्षमा मुलुकभर ३९ वटा सरकारी वकिल कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको बताए। अपराधमुक्त समाज र न्याय सम्पादनमा राज्यको ठूलो लगानी रहेको उनको भनाइ छ।
जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, न्यायाधीश शिशिरराज ढकाल, किशोर घिमिरेलगायतले नवनिर्मित भवनबाट कार्य सम्पादनमा सहजता पुग्ने बताएका छन्।