राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा डोटीमा बजार तथा सडक सरसफाइ कार्यक्रम गरिएको छ ।
नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसरमा फागुन ६, ७ र ८ गते देशव्यापी विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने कार्यक्रम तय गरेअनुसार डोटीमा पहिलो दिन सडक तथा बजार सरसफाइ कार्यक्रम गरिएको हो ।जिल्ला समन्वय समिति डोटीको मूल गेटदेखि शैलेश्वरी मन्दिरसम्मको सडक तथा बजार सरसफाइ गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।बिहीबार जिल्लाभरका सरकारी तथा गैरसरकारी कार्यालय परिसर सरसफाइ गर्ने र प्रजातन्त्र दिवससँग मिल्ने कार्यालयका कार्यक्रम सञ्चालन गर्ने परिपत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । सरसफाइमा जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीहरू र सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज बेलुका दिपावली गर्ने, झण्डा फहराउनेलगायतका कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।