
काठमाडौं – नेपालमा २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आज निर्वाचन आयोगले पाँचौँ निर्वाचन दिवस मनाउँदैछ ।
निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ आयोगले २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेकाछन ।मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगको रहेको भन्दै आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा स्थापनाका ५४ वर्ष पूरा गरिसकेको बताएको छ ।
आसन्न निर्वाचनलाई आमसहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहने छ भन्नेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।