काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईको भ्रमण गर्दैछन् । शुक्रबारदेखि झण्डै एक हप्ता पूर्वी तराईका जिल्लामा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम बनाएका पौडेलको भ्रमण धरानबाट सुरु हुन लागेको हो ।
स्वकीय सचिव चिरञ्जीवि अधिकारीका अनुसार वरिष्ठ नेता पौडेल शुक्रबार विहान बुद्ध एयरबाट विराटनगर हुँदै सुनसरीको धरान पुग्नेछन् । पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोहि उपमहानगरपालिका निर्माण भएको वीपी पार्कको उदघाटन गर्ने कार्यक्रम छ ।
यस्तै फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन् ।
फागुन १० गते सप्तरीका सवै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सिरहा र सप्तरीको सवै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी छोडी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सवै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सडक आन्दोलन थाल्नुपर्ने जोड वरिष्ठ नेता पौडेलको थियो । सडक आन्दोलन गर्ने विषयमा कांग्रेसमा संस्थापन पक्ष र पौडेल पक्षबीच अहिले पनि मतभेद छ । तर पौडेलकै जोडबलमा कांग्रेस प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनमा होमियो ।
आगामी महाधिवेशन नजिकै आउँदै गर्दा पौडेलको पूर्वी तराईको दौडधुपलाई महत्वका साथ हेरिएको छ ।