वेलिङ्टन/सोल – न्युजिल्यान्डले कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक भित्र्याएको छ । भाइरसको महामारी नियन्त्रणमा उदाहरणीय भूमिका खेलेकी प्रधानमन्त्री जसिन्डा आर्डनले सोमबार खोप ल्याइएको बताएकी हुन् ।
न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री जसिन्डा आर्डन । उनका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ६० हजार मात्रा खोप न्युजिल्यान्ड ल्याइएको हो । ‘फाइजर–बायोएनटेक खोप न्युजिल्यान्डमा ल्याइएको छ । अब यो लगाउन सुरु गरिनेछ । यसलाई ठूलो अभियानका रूपमा अगाडि बढाउने तयारी भएको छ,’ सोमबारको पत्रकार सम्मेलनमा आर्डनले भनिन् ।
देशभित्रै केही आवश्यक परीक्षणपछि मात्रै खोप अभियान सुरु गरिने प्रधानमन्त्री आर्डनको भनाइ छ । उनका अनुसार उक्त खोप शनिबारदेखि सुरुमा केही सीमित व्यक्तिलाई लगाउन थालिनेछ । कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको आर्डनले बताइन् ।आगामी दुईदेखि तीन सातामा करिब ३० हजार जनालाई खोप दिने तयारी सरकारको रहेको उनले जनाइन् । एक जनालाई खोपको दुई मात्रा दिनुपर्ने भएकाले ६० हजार खोप ३० हजार जनालाई लगाउन सकिने भएको हो । ‘अग्रपंक्तिमा रहेर काम गर्दै आएका सफाइ मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइनेछ,’ आर्डनले भनिन् । खोप लगाएपछि न्युजिल्यान्डका सवै नागरिक कोरोना भाइरसबाट सुरक्षित हुने उनको विश्वास छ । आर्डनका अनुसार मार्च अन्त्यसम्ममा न्युजिल्यान्डले थप २ लाख २५ हजार खोप ल्याउँदै छ ।
कोरियाले पाका नागरिकलाई अक्सफोर्डको खोप नलगाउने :
दक्षिण कोरियाले पाका नागरिकलाई अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नलगाउने भएको छ । यसअघिको निर्णय उल्टाउँदै कोरियाले ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका नागरिकलाई उक्त खोप नदिने जनाएको हो । विश्व स्वास्थ्य संगठनको खोप वितरण सञ्जाल कोभ्याक्सले खोप उपलब्ध गराउन ढिलो गरेकाले उक्त निर्णय गर्नुपरेको कोरियाको भनाइ छ ।
दक्षिण कोरियाले यसअघि पहिलो चरणमा १३ लाख नगारिकलाई अक्सफोर्ड–अस्ट्राजेनेका खोप दिइने बताएको थियो । तर अब पहिलो चरणमा करिब ७ लाख ५० हजार जनालाई मात्र खोप लगाइने अधिकारीले जनाएका छन् ।