
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइमा आजदेखि एमिकस क्युरीको तर्फबाट बहस सुरु हुने भएको छ।
सर्वोच्च अदालतमा परेका रिटमाथि दुवै पक्षको बहस सकिएपछि अदालतको सहयोगीका रुपमा रहेको एमिकस क्युरीका विज्ञ कानुन व्यवसायीले बहस गर्न लागेका हुन्। सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनबाट तीनजना र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुईजना एमिकस क्युरी माग गरेको थियो। जसअनुसार नेपाल बारबाट बद्रिबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठकले एमिकस क्युरीको रुपमा बहस गर्नेछन्।
उनीहरूले कुनै पनि पक्ष वा विपक्षमा बहस नगरेर अदालतलाई रायमात्रै दिनेछन्। एमिकस क्युरीको रायपछि सर्वोच्च अदालतले फैसला सुनाउने छ। रिट निवेदकको बहस सकिएलगत्तै सरकारी पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए। दुई दिन रिट निवेदकका तर्फबाट जवाफी बहसको समय निर्धारण गरिएको थियो। हिजो रिट निवेदकका तर्फबाट पनि जवाफी बहस सकिएको हो। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।