काठमाडौँ- सशस्त्र प्रहरी बल बुची रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याएको ६६ जिउँदो बोइलर कुखुरा नष्ट गरेको छ ।
आज सशस्त्र प्रहरी बल र पशु क्वारेनटाइन कार्यालयको सहकार्यमा अवैध रूपमा भारतबाट आयात गरिएको बोइलर कुखुरा नष्ट गरिएको पशु क्वारेनटाइन बेलहिया रुपन्देहीका प्रमुख डा. शिवलाल भुसालले जानकारी दिए । विदेशबाट स्थल मार्ग हुँदै नेपालमा जिउँदो कुखुरा र अण्डा तथा मासु आयातमा प्रतिबन्ध छ । तर सीमा क्षेत्रबाट खुलेआम कुखुरा र मासु आयात भइरहेको छ ।
नेपालमा भन्दा भारतमा कुखुराको मूल्य कम हुनाले अवैध आयात नरोकिएको उनले बताए । ‘भारतमा सस्तोमा कुखुरा पाइन्छ र बिचौलियाहरूले भारतबाट लुकिछिपी कुखुरा ल्याइ नेपालमा धेरै कमिसन खाएर बेच्छन् । ’ भुसालले भने । माघ २५ गतेदेखि आजसम्ममा २२६ कुखुरा नष्ट गरिएको छ । साथै रुपन्देहीका नाकाहरूमा कडा निगरानी गरिएको जनाइएको छ ।