
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका खुलेका छन् ।महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरेसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन् ।
तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् ।मेयर घिमिरेले आफूसहित अधिकांश कार्यपालिका सदस्यले महासचिव विष्णु पौडेललाई साथ दिने निधो गरेको जानकारी दिए ।आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए । त्यतिबेला महासचिव पौडेलले तस्वीर लिएर सामाजिक सञ्जालमा राखेका घिमिरेले बताए ।यसअघि मेयर घिमिरे नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा रहेको चर्चा चल्ने गरेको थियो । रुपन्देहीमा ओली समूहमा पौडेल र प्रचण्ड–नेपाल समूहमा भुसाललाई प्रमुख नेता मान्ने गरिन्छ ।
शनिवार बुटवलमा आयोजित जनसभामा देखिएको व्यापक सहभागिताले महासचिव पौडेलको प्रभाव देखिएका बेला तिलोत्तमाका मेयर घिमिरेले साथ दिएपछि महासचिव पौडेल झन् बलियो हुने चर्चा छ ।