गुल्मी – गुल्मीदरबार गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
गाउँपालिकाभित्र रहेका ८७ वर्ष उमेर कटेका १०० जना ज्येष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक प्रदान गरेको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँको बजेटबाट ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरकले सम्मान गरिएको हो ।त्यस्तै गाउँपालिकाबाट ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको घरघरमा स्वास्थ्यकर्मीहरु गई स्वास्थ्य परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
गाउँपालिकाले दम, सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । अशक्त ज्येष्ठ नागरिकहरूको घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने लगायतका कार्यक्रमहरू संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।जनतासँग गाउँपालिका कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा, आकाङ्क्षा सम्बन्धमा सबै वडाहरू र टोलटोलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।गाउँपालिकाबाट गत असोज १५ गते ज्येष्ठ नागरिक दिवसको अवसरमा समेत घरमा एक्लै भएको समय गीत, संगीत, भजन तथा समाचार सुन्नको लागि रेडियो वितरण गरेको थियो ।आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको लागि महत्वपूर्ण सुझावहरू प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
गाउँपालिका टोलटोलमै पुगेर जेष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा सुनिदिएकोमा ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।