ताप्लेजुङ – सिरिजंगा गाउँपालिका-५को पेदाङ र वडा नम्बर ६को खेवाङ सिमानामा रहेको चिहानडाँडास्थित सामुदायिक वनमा शुक्रबार रातिदेखि लागेको डढेलोले ठूलो रुप लिएको छ ।
डढेलो लागेको तल्लो क्षेत्रका बासिन्दाले आफ्नो घर जोगाउन गएरातिदेखि सुत्न पाएका छैनन् । ‘माथिबाट कोइला, आगोको लप्का उडेर आउने र घर जलाउने डरले रातभरी जाग्राम बस्यौं,’ पेदाङका पर्वत भण्डारीले भने, ‘राडीलाई पानीमा भिजाएर घरको धुरीमा राख्यौं र पानीले छानो पुरै भिजायौं ।’शुक्रबार बेलुका ११ बजेतिर देखिएको डढेलो शनिबार दिउँसो गाउँलेले निभाएका थिए । सेउला र पानी हालेर निभाएको आगो दिउँसो ३ बजेदेखि फेरी सल्किएको हो । निभाउन नसकिएको ठाउँको ठुटाको आगो हावा चलेपछि पुनः सल्किएको अनुमान गरिएको पर्वतले बताए । ‘अब त निभाउन सक्ने अवास्था नै छैन,’ भण्डारीले भने ।
तुङखाले भिरको डढेलोबाट यसको फेदमा रहेका २०/२२ घरमा झिल्का र कोइला र लप्का उडेर आउने जोखिम रहेको स्थानीय पूर्ण लिङ्देनले बताए । डढेलो बढ्दै गएकाले खेवाङतर्फ पनि जोखिम बढेको छ । भिरको शिरान र जंगलमा रहेको अलैंचीका बगानहरु सखाव हुने स्थानीय बताउँछन् । जंगल क्षेत्र ठूलो र सुख्या भएकाले नियन्त्रण चुनौतीपूर्ण रहेको स्थानीयवासीले बताएका छन् ।