भारत र चीनबीच पूर्वी लद्दाखमा लगभग एक वर्षदेखि जारी विवाद सकिन लागेको छ । दुवै देशले पांगोङ ताल सीमाका विषयमा सम्झौता गरेका छन् र अप्रिल २०२० भन्दा अघिको स्थिति लागू गर्ने कोशिश गरेका छन् ।
तालको उत्तरी तथा दक्षिणी किनारामा तैनाथ गरिएका जवानलाई पछि हटाइने भएको छ । यो प्रक्रिया चलुन्जेल केही समयका लागि दुवै देशले तालमा गश्ती गर्ने छैनन् । भारतले राचिन ला पहाडमा अधिकार जमाएको र चीनले त्यसलाई मन पराएको छैन किनकि भारतीय सेना यसकै सहारामा चिनियाँ सेनामाथि र अड्डामाथि नजर राख्न सक्छ । उता देप्साङ इलाकामा चीन बलियो छ । अनि अहिलेको विवादपछि उसले अतिरिक्त निर्माण गरेको छ र ट्यांक तैनाथ गरेको छ ।सन् २०१३ मा देप्साङमा भारत र चीनबीच विवाद भएको थियो । अहिले पनि त्यहाँ दुई देशका सेना आमनेसामने छन् र स्थिति एकदमै संवेदनशील छ । त्यसै क्षेत्रमा महिनौंअघि गोली चलेको थियो । भारतले त्यहाँ कैलाश रेन्जमा नजर राखिरहेको छ । हट स्प्रिङ र घोघरा जस्ता विवादित स्थानका विषयमा पनि भारत र चीनका सेनाबीच बैठकमा चर्चा हुनेछ ।
विपक्षी दलका नेता राहुल गान्धीले देप्साङमा चिनियाँ सेना किन पछि नहटेको भनी प्रश्न गरेका छन् । प्रधानमन्त्रीले भारतको पवित्र भूमि चिनियाँलाई सुम्पेको र चीनसामु टाउको झुकाएको उनले आरोप लगाए ।