
काठमाडौं । जनमुक्ति सेनाका पूर्व कमाण्डरहरुसँग प्रचण्ड, माधव नेपाललगायतका शीर्ष नेताहरुले छलफल गरेका छन् । नेकपा प्रचण्ड नेपाल पक्षको पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन र उपलव्धि जोगाउन जनमुक्ति सेना एकपटक पुनः अग्रसर हुनुपर्ने बेला आएको बताए ।
यो परिवर्तन तपाई हामीले नै लडेर ल्याएको हो । हामी तपाईंहरुका अभिभावक हौँ । किनभने परिवर्तनका लागि तपाईं हामी सवैले लडेका हौँ । त्यसकारण परिवर्तनको संरक्षण गर्ने दायित्व पनि तपाई हाम्रै हो’, प्रचण्डको भनाइ उधृत गर्दै जनमुक्ति सेनाका एक पूर्वकमाण्डरले रातोपाटीसँग भने, ‘प्रतिगमनकारी कदमका पक्षमा लाग्नेलाई जनमुक्ति सेनाले साथ दिँदैन भन्ने विश्वास छ ।’ उनले केही साथीहरु भुलचुकमा परेपनि उनीहरुलाई सम्झाउनु पर्ने बताए । प्रचण्डले परिवर्तनलाई जोगाउन र संस्थागत गर्न पूर्व जनमुक्ति सेनालाई पुनः लड्न आह्वान पनि गरे । ‘हिजो हतियार बोकेर लड्नुपरेको थियो । आज वैचारिक र शान्तिपूर्ण ढंगले लड्नुपर्छ । सडक संघर्षको नेतृत्व पनि तपाईंहरु जनमुक्ति सेनाले नै गर्न जरुरी छ’, प्रचण्डको भनाई उदृत गर्दै प्रचण्ड–नेपाल पक्षका युवा नेता रामप्रसाद सापकोटा दीपशीखाले रातोपाटीलाई बताए ।
कार्यक्रमको सहजीकरण नेता जनार्दन शर्माले गरेका थिए ।