वाग्मती प्रदेश सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । आजभन्दा तीन वर्ष अघि माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा वाग्मती प्रदेश सरकार गठन भएको थियो ।
सरकारले “एक निर्वाचन क्षेत्र, एक उद्योग ग्राम” कार्यक्रमअन्तर्गत पाँच स्थानमा औद्योगिक क्षेत्र निर्माणको काम थालनी गरेको छ । त्यस्तै १० स्थानको वातावरणीय अध्ययन सम्पन्न भएको जनाइएको छ । सिन्धुलीको हरिहरपुरगढीमा तीन हजार ६०० रोपनी क्षेत्रफलको प्रदेश औद्योगिक क्षेत्रको निर्माणकार्य थालनी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार “उद्यमीको हात, प्रदेश सरकारको साथ” भन्ने नाराका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्षित गरी उत्पादन वृद्धिका लागि रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत एक हजार २९ वटा प्रविधि हस्तान्तरण गरिएको छ । त्यस्तै, मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार प्रदेश सरकारले ४५ वटा महत्वपूर्ण पदमार्ग निर्माण गरेको छ । प्रदेशभरी झण्डै ४३ किलोमिटर गुणस्तरीय तथा पर्यटनमैत्री पदमार्ग निर्माण गरेको मन्त्रालयको दाबी छ । ‘एक जिल्ला एक नमूना पर्यटन गन्तव्य’ कार्यक्रमअन्तर्गत विभिन्न स्थानलाई पर्यटन गन्तव्य घोषणा गरिएको छ । जसअन्तर्गत सिन्धुपाल्चोकको मुडे, मकवानपुरको चित्लाङ, ईन्द्रसरोवर, ककनी नुवाकोट, जिरी दोलखा, शिवालय रामेछाप, रूवीभ्याली धादिङ, सोम्दाङ रसुवा, कालेश्वर ललितपुर, सुराइचुली चितवन, सिन्धुलीगढी सिन्धुलीलाई घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैकसँगको सहकार्यमा नवयुवालाई लक्षित गरी निःशुल्क तालीम, व्यावसायिक योजना, सहुलियत पूर्ण कर्जाका लागि सम्झौता गरी “स्मार्ट अप आइडिया कल” कार्यक्रम सञ्चालन गरिएको छ ।दिगो वन व्यवस्थापनबाट पूर्णकालीन १३७ जनालाई रोजगारी दिएको छ भने पाँच लाख ८९ हजार ७१४ श्रमदिन, पर्यटनबाट एक लाख ८४ हजार २८५ दिन, भू–संरक्षणबाट १२ लाख ३४ हजार ९१८ दिन गरी कयौंलाई अल्पकालीन रोगजारी उपलब्ध गराएको छ । त्यस्तै उद्योग क्षेत्रबाट ४६ हजार ३२० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । नगरकोट जस्ता पर्यटकीय क्षेत्रसहित प्रदेशका एक हजार २१० रोपनी वन क्षेत्र अतिक्रमणबाट मुक्त गरिएको छ ।
चुरे क्षेत्र तथा संवेदनशील क्षेत्रमा रहेका खोला खहरेमा वृहत् बाँस रोपण तथा बायोइञ्जिनीयरिङ प्रविधिद्वारा संरक्षणकार्यक्रम अन्तर्गत ८६३ वटा खहरे तथा पहिरो नियन्त्रण गरी ५६ किमी संरचना निर्माण गरिएको छ । ६ वटा हिल स्टेशन र १० वटा नमूना पर्यटन गन्तव्यसहित २८६ वटा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।