२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

धनुषा — महोत्तरी र सर्लाहीको सीमा बाँके खोलामा अवैध उत्खनन भइरहेको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको बाँके खोला पुलबाट दक्षिणतर्फ र रेल्वे ट्र्याकको दुवैतर्फ अवैध उत्खनन भइरहेको हो ।

सागरनाथ वन विकास परियोजनाअन्तर्गत महोत्तरी-सर्लाहीको सिमाना बाँके खोलामा गिट्टी, बालुवा उत्खननमा प्रयोग भएका एक्साभेटर र टिपर दुई महिनायता जंगल क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा उत्खनन गरिसकिएको छ । अझै पनि घनाजंगल रहेको उक्त क्षेत्रमा टिपर र डोजर नै डुब्ने खाल्डा खनेर नदीजन्य पदार्थ निकालिराखिएको छ । जंगल क्षेत्रमा पर्ने खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायत

उत्खनन गर्न पाइँदैन । तर यहाँ नदीजन्य पदार्थ उत्खननकै लागि ४० भन्दा बढी डोजर र ढुवानी गर्न ७०/८० वटासम्म टिपर प्रयोग गरिएको छ । यस्ता सामग्री धेरैजसो महोत्तरीतर्फ निकासी भइरहेको स्थानीय बताउँछन् ।यसअघि यही स्थानमा गिट्टी, बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर २०७५ असार १४ मा ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घाटटोलका ११ वर्षीय सुमित यादवको मृत्यु भएको थियो । घटनाको विरोधमा भोलिपल्ट स्थानीयले बाँके चोकमा चक्काजाम गरेका थिए । त्यसक्रममा स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाउँदा २५ वर्षीय सरोजसिंह कुशवाहाको ज्यान गएको थियो ।बाँके खोलामा नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न महोत्तरीको गौशाला नगरपालिका र सर्लाहीको ईश्वरपुर नगरपालिकाले आलोपालो ठेक्का लगाउँदै आएका छन् । गत वर्ष गौशालाले ठेक्का लगाएको थियो । यसपटक ईश्वरपुरले मंसिर १ मा जनकपुरको शिवम् कन्स्ट्रक्सनलाई १ करोड ८ लाख रुपैयाँमा ठेक्का दिएको हो । सम्झौतामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार ईश्वरपुर–१३ श्रीनगर घाटटोलस्थित बाँके खोलाबाट ५ फिट गहिराइ र ४ लाख ५० हजार ८०५ घनमिटर गिट्टी, बालुवा निकाल्न मिल्ने उल्लेख छ ।तर सम्झौतामा उल्लेख भएभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन भइसकेको छ । उत्खनन अझै जारी छ । तर यसबारे नगरपालिका भने बेखबर छ । नगरका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटा उत्खनन परिमाणबारे आफूलाई थाहा नभएको बताउँछन् । उत्खनन सुरु भएको जानकारी भए पनि नापजाँच र अनुगमन नभएको इन्जिनियर रमेश साहले स्विकारे । ‘बाँके खोलाको घाटटोल खण्डमा मात्र उत्खनन भइरहेको जानकारी नगरपालिकामा आएको छ । रेल्वे ट्र्याक क्षेत्रमा उत्खनन भए/नभएकोबारे भने जानकारी छैन,’ उनले भने, ‘उत्खननको जाँच र अनुगमनको जिम्मेवारी पनि दिइएको छैन ।’ स्थानीय भने रेल्वे क्षेत्रमै बढी उत्खनन भइरहेको दाबी गर्छन् ।

सम्झौतामा उल्लिखित उत्खनन गर्न पाइने परिमाणको तथ्यांक लुकाएर त्यसभन्दा बढी मात्रामा गिट्टी, बालुवा निकालिएको गौशाला–१२ का राकेश महतोले बताए । अवैध ढंगले नदीजन्य पदार्थ निकालिएको ईश्वरपुर–१३ का अध्यक्ष रामकरण महतो पनि स्विकार्छन् । अवैध उत्खननका कारण नजिकको श्रीनगर घाटटोल बाढीको उच्च जोखिममा छ । महोत्तरीतर्फ गौशाला–१२ को पूरा क्षेत्र, कान्ति बजारलगायत दर्जनौं गाउँ डुबान र खेतीयोग्य जमिन कटान हुन सक्ने स्थानीय गोपाल बम्जनको चिन्ता छ ।उत्खनन गर्न बनाइएको १२–१५ फिट गहिरो खाडल पुर्न अहिले ईश्वरपुर नगरपालिका नै लागिपरेको स्थानीयको आरोप छ । उत्खननबारे पटक–पटक अनुगमन र निरीक्षण गर्नुपर्ने भए पनि नगरका कर्मचारी तथा जनप्रतिनिधिसमेतले स्थानीयबाट आएको गुनासो सम्बोधनमा वास्ता नगर्नुले मिलेमतोको आशंका गरिएको हो ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बाँके खोलामा उत्खनन सुरु हुँदा अनुगमन भए पनि त्यसपछि भने नभएको बताए । ‘खोलामा भएको अवैध उत्खननबारे हामीलाई कुनै जानकारी छैन । जिल्ला समन्वय समिति र स्थानीय तहले अनुगमनबारे थाहा दिए मात्रै प्रहरी पुग्ने हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]