काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
अहिले देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशसहित प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली भएको छ । अरु स्थानको मौसम भने सामान्यतया सफा छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकोमाैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।