
पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभा भाँडिएको हो ।
यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत माघ १७ गते छलफल भएर टुंगोमा पुग्न लागेको थियो । भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीनवटा पालिका बनाउन प्रस्ताव गरियो ।हालको केन्द्रलाई नै केन्द्र मान्ने गरी उत्तरगंगा, कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी सुनगुफा र हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी पुथा गाउँपालिका प्रस्ताव गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यसमेतको समर्थनमा गाउँपालिका टुक्र्याउने प्रस्ताव गरिएको हो ।तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि गाउँसभा अनिर्णीत बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । ४५ दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताए ।गाउँपालिका टुक्र्याउनेबारे विवाद बढेपछि आयोग बनाउन छलफल भएको छ । वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो ।पुथाउत्तरगंगा–१२ का वडाध्यक्ष गंगबहादुर पुन मगरले गाउँपालिका भूगोलमा ठूलो भएपछि सबैले सेवा प्रवाहमा असहज महसुस गरेको बताए । ‘असजिलो भएको महसुस जनतादेखि हामी सबैलाई भएको थियो,’ उनले भने, ‘सकेसम्म पायक र नजिक स्थानीय तह हुनुपर्छ भनेर गाउँपालिका टुक्र्याउन छलफल भएको हो ।’ गाउँसभा माघ १५ गते सुरु भएर १७ गते स्थगित भएको थियो ।रुकुम पूर्वका तीन स्थानीय तहमध्ये पुथाउत्तरगंगा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गाविस मिलाएर यो गाउँपालिका बनाइएको थियो । यसमा १४ वडा छन् ।
जिल्लाबाट पुथा र उत्तरगंगा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एक भएर आएको थियो । पुथा यहाँको अग्लो हिमाल हो भने उत्तरगंगा नदी । माथि उत्तरगंगा नामबाट चिनिने नदी तल आउँदा सानीभेरी र पछि ठूलीभेरी हुँदै भेरी नदीका नाममा प्रख्यात छ ।