पाल्पा — रैनादेवी छहरा–७ बल्ढेङगढीमा अघिल्लो साता गस्ती गर्दा सालका रूख काट्ने पाँच जना पक्राउ परे । चन्द्राकार सामुदायिक वनमा साल काट्दै गर्दा रूपन्देहीको सैनामैना नगरपालिका–९ का ४३ वर्षीय मनीराम विश्वकर्मा, ३४ वर्षीय अजय मगर, ३५ वर्षीय गोविन्द विश्वकर्मा, ३५ वर्षीय शम्भु विश्वकर्मा र ३३ वर्षीय दीपक विश्वकर्मा पक्राउ परेका हुन् ।
मध्यरातमा सालका रूख काट्ने क्रममा गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले बताए । ‘अवैध रूपमा सालका रूख कटानी भएको जानकारी पाएपछि विशेष अप्रेसन थालिएको छ,’ उनले भने, ‘अप्रेसन थालेकै दिनमा अवैध रूपमा काठ काट्ने पक्राउ गर्न सफल भएका छौं ।’बल्ढेङगढीका सहायक वन अधिकृत प्रदेशी चौधरीको कमान्डमा खटिएको टोलीले तस्करको उक्त समूहलाई पक्राउ गरेको हो । ६९.५४ क्युफिट सालका गोलिया र चिरान काठ, आरा, बन्चरो र बन्दोबस्तीका सामानसमेत बरामद भएको छ । उनीहरूलाई वन ऐन, २०७६ अनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।गत साता डिभिजन वनले तोकेको कटान आदेशभन्दा ३ हजार ५ सय २६ क्युफिट बढी काठ काटेका कारण तानसेन नगरपालिका–११ बन्दीपोखराका तिलाहार साखर र सल्लेरी सामुदायिक वनका अध्यक्ष गणेशप्रसाद घिमिरे पक्राउ परे । वन कार्यालयले तिलाहार सामुदायिक वनलाई कार्ययोजनाअनुसार २ हजार ७४ क्युफिट काठ काट्न आदेश दिएको थियो । सामुदायिक वनले ५ हजार ६ सय क्युफिट काठ काटेर घाटगद्दीका लागि लगेको थियो ।तराईसँग जोडिएका चुरे र अन्य क्षेत्रमा नयाँ–नयाँ शैलीमा काठ तस्करी हुने गरेको छ । चुरे क्षेत्रमा राति काठ बोकेर नजिकका फर्निचर उद्योगमा पुर्याउने गरिन्छ । अन्य क्षेत्रमा खोलामा बगाउने, बोकाएरै राति लैजाने, खुलेआम ट्र्याक्टरमा राखेर चिरान काठ तस्करी हुने गरेको छ । रामपुर नगरपालिका–३ रजघरामा चिरान काठ बरामद गर्दा पानीको बहावमा भेटिएको थियो । पूर्वखोला गाउँपालिका–६, हेक्लाङबाट रम्भाको ताहुँमा ट्र्याक्टरमा चिरान काठ ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो । रामपुरका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ ।
अधिकांश स्थानमा काठ तस्करीमा संलग्न व्यक्ति फरार हुन्छन् । तिनाउ गाउँपालिकाको झुम्सामा केही समयअघि काठ समातियो । फर्निचर उद्योगको मिलेमतोमा ४ दशमलव ७७ क्युफिट काठ राति १ बजे प्रहरीले समातेको थियो । प्रहरीले अनुसन्धान गरेर वन कार्यालयमा बुझायो । तर तस्करी गर्नेहरू धरौटीमा छुटे ।माथागढी गाउँपालिकाको गोठादीबाट पनि काठ तस्करी भएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्यो । प्रहरीले पक्रेका व्यक्ति र सवारीसाधन वन कार्यालयलाई बुझाए पनि भोलिपल्टै छुट्ने गरेको आरोप छ । प्रहरीका अनुसार कचल, रामपुर र झुम्साका काठ र व्यक्ति पक्रेर अनुसन्धान गरी पठाए पनि तत्कालै धरौटीमा छुटेका छन् ।बल्ढेङगढीको चिदीपानीमा तस्करको सामान नै स्थानीय उपभोक्ताले नियन्त्रणमा लिएका थिए । रूपन्देहीको सालझन्डी, रामापुरलगायत तराईका विभिन्न क्षेत्रबाट बल्ढेङगढीमा तस्करी गर्नेहरू आउने गरेका हुन् । स्थानीय सुकमाया विकका अनुसार चिरान गर्ने आरा, बन्चरोलगायत सामग्री छाडेर तस्कर भागेका थिए । ‘तस्करहरूले एक/दुई जनालाई भेट्दा मार्नेसम्मको धम्की दिने गर्छन्,’ उनले भनिन्, ‘हूल बाँधेर काठ तस्कर आउने गर्छन् ।’
जिल्लामा मापदण्डविपरीत सञ्चालित फर्निचर उद्योगको अनुगमन छैन । यिनै उद्योगमा तस्करीको काठ पुर्याइने गरिन्छ । ४० भन्दा बढी फर्निचर उद्योग बिनादर्ता सञ्चालनमा छन् । ‘काठ तस्करीका विषयमा केही जानकारी पाएपछि निगरानी बढाएका छौं,’ डिभिजन वन अधिकृत मोहन पौडेलले भने, ‘अनुमति लिएभन्दा बढी काटेको वा अन्य हिसाबले चोरी तस्करी गर्ने कसैलाई पनि छाडिएको छैन ।’