नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि प्राधिकरणको संचालक समितिको बैठकले शाक्यलाई कार्यकारी निर्देशकको सरह पूर्ण अधिकारसहित ६ महिनाको लागि कायम मुकायम कार्यकारी निर्देशक नियुक्त गरेको थियो । प्राधिकरण कै सहायक कम्पनी ‘एनईए इञ्जिनियरिङ कम्पनी’मा काजमा रहेका शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर निमित्तको जिम्मेवारी दिइएको भोलिपल्टै पूर्ण अधिकारसहित कायम मुकायम कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।
कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएपछि प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेका उप कार्यकारी निर्देशक मध्ये सबै भन्दा माथिल्लो बरियताका लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो । कोइराला र शाक्य दुवै १२ औ बरियताका उपकार्यकारी निर्देशक थिए। तर बरियताको हिसाबमा शाक्य अगाडी थिए। सोहि कारण शाक्य केन्द्रीय कार्यालयमा आएपछि उनले नै जिम्मेवारी पाएका थिए। अब भने शाक्य नै कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।