सप्तरी – मनाङ घुम्न आएका काठमाडौंका नरबहादुर अस्तानी मगर हिमपातले सवारीसाधन नचलेपछि सोमबार सबेरै हुम्डेबाट पैदल हिँडे । हुम्डेबाटै दीप गुरुङ र राजु गुरुङलगायत पनि तल्लो मनाङको नासोंका लागि सबेरै पैदल हिँड्न बाध्य भए ।
अन्नपूर्ण पदमार्ग हुँदै सब्जेखोलाबाट माथिल्लो मनाङतर्फ जाँदै आन्तरिक पर्यटक । तस्बिर : आश/कान्तिपुर
‘हिउँ हटाएर बाटो खुलाएको भए हुम्डेबाट गाडीमा बेंसीसहर हुँदै काठमाडौं जान हुन्थ्यो । नखुलेपछि हिँड्नुको विकल्प भएन,’ मगरले भने । मनाङ घुम्न आएका अनुप गुरुङले गाडी नचल्दा हिउँ पन्छाउँदै हिँड्नुपरेको बताए ।
शुक्रबार र शनिबार मनाङमा भारी हिमपात भयो । आइतबारयता घाम लागे पनि हिउँ पग्लिसकेको छैन । त्यसैले गाडी नचलेको हो । गाडी बन्द भएपछि चामेबाट मनाङ गाउँसम्म भारी बोकेर हिँड्नुपरेको गोरखाका सुकबहादुर गुरुङले बताए । हिमपातले बाटो अवरुद्ध हुँदा भारी बोकेर हिड्नुपरेको उनले सुनाए ।
धेरै ठाउँ सडकमा हिउँ जमेपछि लमजुङको बेंसीसहरदेखि तल्लो मनाङको नासों–९ दानक्युसम्ममात्रै जिप चलेको छ । दानक्युबाट सदरमुकाम चामे साथै माथिल्लो क्षेत्रमा सवारी आवागमन ठप्प छ । माथिल्लो मनाङ, हुम्डे र खाङसारलगायत क्षेत्रबाट मानिसहरू हिउँका थुप्रा छिचोल्दै हिँडेको देखिएका छन् । दानक्युमा पनि जिप नपाइने समस्याले बेंसीसहर, काठमाडौं र पोखरा जान हिँडेका यात्रु तथा पर्यटकले सास्ती खेप्नुपरेको छ । चामेको बजार क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले सडकको हिउँ हटाएका छन् ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सदरमुकामबाहेक अन्य ठाउँको हिउँ हटाउन नसकेको बताए । ‘हिउँ हटाउने सन्दर्भमा स्थानीय तहका प्रमुखहरूसँग कुरा भइरहेको छ,’ उनले भने, ‘काम गर्न सकिएको छैन ।’ चामे बाहेकका क्षेत्रमा हिउँ फाल्न डोजर प्रयोग गर्ने, सेना–प्रहरी परिचालन गर्ने, ट्र्याक्टरले हिउँ कुल्चिन लगाउनेलगायत विकल्पमा काम भने सुरु भएको छैन ।
मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले सडक हिउँले अवरुद्ध पारेपछि घरबाट कार्यालय रहेको हुम्डेसम्म पुग्न नसकेको बताउँछन् । ‘अफिस जान सकिएन । कर्मचारीसँग फोनमा कुरा भइरहेको छ,’ उनले भने, ‘फेरि २/३ दिनपछि हिउँ पर्ने सम्भावना देखिएको छ । अहिले हटाए फेरि हिउँ थुप्रिन्छ । बरु घाम लाग्यो भने बिस्तारै बिलाउँछ ।’