काठमाडौं– भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा १५० जनाभन्दा बढी अझै बेपत्ता छन्।
बाढीले दुईवटा जलविद्युत् परियोजना बगाएको छ। एउटा परियोजनाका १२१ जना र अर्कोका ३२ जना मजदुर अझै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३५ जना सुरुङमा फसेका छन्। सुरुङभित्र लेदो भरिएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।हिजो आइतबार आएको बाढीमा परेका ७ जनाको शव फेला परेको छ।
आइतबार बिहान करिब १० बजे उत्तराखण्डको चमोली जिल्लास्थित नदीहरुमा अचानक पानी बढेको थियो। नन्दादेवी हिमनदीको एउटा भाग टुटेर भू–स्खलन भएपछि ऋषिगंगा र अलकनन्दा नदीमा भीषण बाढी आएपछि त्यसले विनासलिला मच्चाएको हो।