काठमाडौं : बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धान जारी छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको नेतृत्वमा अनुसन्धान भइरहेको छ। सुवेदीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको बताए। सुवेदीले आफू अहिले घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए। स्थलगत अनुगमनका लागि मानव अधिकारको टोली पनि हिजो घटनास्थलमा पुगेको छ। यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिररहेको छ। यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ। भागरथीको शव परीक्षणअघि नै भेजाइनल स्वाब सङ्कलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए।
मृतक किशोरी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन्। उनको कलेजबाट फकिँदै गर्दा गत माघ २२ गते हत्या भएको थियो। हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ। मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन्।