विराटनगर – प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर बैठक स्थगित भएको थियो । बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड(माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने नेपाली कांग्रेसले संकेत दिएको छ । अविश्वासको प्रस्तावको पक्षमा उभिने कांग्रेसको संकेतपछि प्रचण्ड-माधव समूह आइतबारकै बैठकमा अविश्वासको प्रस्ताव टेबुल गराएर छलफल गर्नुपर्ने पक्षमा छ ।
तर ओली समूह भने संसद् बैठक लम्ब्याउने पक्षमा छ । आइतबार १६ जनालाई प्रवेश दिइए बैठक रोक्ने र जारी अधिवेशनको तेस्रो बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि हुनुपर्ने पक्षमा ओली समूह छ ।