काठमाडौं– अर्थशास्त्रको एउटा सिद्धान्त अनुसार जुन ठाउँमा मानिसहरुको चहलपहल बढी हुन्छ, त्यहाँको व्यापार–व्यवसाय बढी फस्टाउँछ ।
त्यसैले बढी चहलपहल हुने ठाउँमै राम्रा, ठूला र ब्राण्डेड पसलहरु खुलेका हुन्छन् ।काठमाडौंको दरबारमार्ग त्यस्तै क्षेत्र हो, जहाँ अधिकांश ब्राण्डेड पसलहरु सञ्चालनमा छन् ।आज दरबारमार्गमा अन्य दिन भन्दा बढी चहलपहल हुने, बढी मान्छे जम्मा हुने निश्चित छ ।यस्तो बेला दरबारमार्गका पसलहरुमा झन् बढी व्यवसाय हुनु पर्ने हो ।तर, यसको ठिक विपरित दरबारमार्गका पसलहरु बढी चहलपहल हुने दिन नै बन्द गरिएका छन् ।आज शुक्रवार राम्रो व्यवसाय हुने दिन त्यहाँका व्यवसायीहरु भने असन्तुष्ठ छन् ।कारण हो, सत्तारुढ दलकै शक्ति प्रदर्शन तथा आम सभाका कारण दरबारमार्ग नै बन्द गर्नु पर्ने बाध्यता आमसभालाई सफल पार्नका लागि दरबारमार्गका सम्पूर्ण पसलहरु आज शुक्रवारका दिन बन्द गर्नु पर्दा व्यापारीहरु असन्तुष्ठ समेत देखिएका छन् ।दरबारमार्गका पसलहरु हिजो बिहिबार पनि बन्द थिए, कारण थियो प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टीको आम हड्ताल ।त्यहाँका पसलहरु आज पनि बन्द छन्, कारण हो सत्तारुढ नेकपाको आमसभा ।
नेकपा ओली समूहले आज नारायणहिटी दरबारकै अगाडि विशाल जन प्रदर्शन सहित आमसभा गर्दैछ ।नेकपा ओली समूहले शुक्रबार नारायणहिटी संग्रहालयको मुख्य गेटमै मञ्च बनाएर आमसभा गर्न लागेपछि दरबारमार्गका व्यापारीहरुले आज एक दिनका लागि व्यवसाय नै बन्द गर्नु पर्ने भएको हो ।यसअघि कुनै पनि राजनीतिक कार्यक्रम र हड्तालको सामना गर्नु नपरेका दरबारमार्गका व्यवसायीहरु पहिलो पटक दरबारमार्गमा राजनीतिक सभा हुन लागेकोमा असन्तुष्ट समेत छन् ।व्यवसायीहरुले महानगरपालिका र प्रशासनसमक्ष दरबारमार्गमा आमसभा नगर्न आग्रह समेत गरेका थिए, तर सरकारी पक्षको आमसभालाई उनीहरुले रोक्न नसकेको बताइन्छ ।कार्यक्रमस्थल सार्न असफल भएपछि व्यवसायीहरुले आज दरबार मार्गमा पसल व्यवसाय बन्द गर्ने निर्णयमा पुगेको बताइन्छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि हुने आमसभाका कारण दरबारमार्गमा राखिएका फलामका डिभाइडरहरु समेत हटाइएका छन् । बिहिबार बिहान दरबारमार्ग विकास बोर्ड तथा काठमाडौं नगरपालिकाले ती डिभाइडरहरु पछि पुन: राख्ने भन्दे हटाएका हुन् ।